|

तनहुँ : सडक निर्माणको बहानामा सालको जंगल फँडानी गर्ने क्रम बढ्दो छ। शुक्लागण्डकी नगरपालिका–३ सन्तेडाँडाको वन क्षेत्र नजिकैको जग्गा प्लटिङ गरेका ठाउँको सडक निर्माण गर्दा सालको रुख काटिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

काटिएको सालको रुख वन कार्यालयले सोमबार बरामद गरेको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए। उन भने, ‘८० क्युफिट सालको गोलिया बरामद गरी ल्याएका छौँ।’ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, डिभिजन वन अधिकृत बाबुराम उप्रेतीको टोलीले उक्त क्षेत्रको अवलोकन गरेका छन्। 

शुक्लागण्डकी–३ का अध्यक्ष रामकुमार श्रेष्ठको संलग्नताममै जंगल फँडानी भएको स्थानीयको आरोप छ। वडाध्यक्ष श्रेष्ठको संलग्नतामा काठ काटेर बिक्री समेत भएको स्थानीयको दाबी छ। एक स्थानीयले भने, ‘वडाध्यक्षको संलग्नतामा काठ काटेर कति सालको काठबाहिर बिक्रीका लागि पठाइएको छ, तर सरोकारवाला पक्ष मौन छन्।’

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले उक्त क्षेत्रको अनुगमन गरिएको बताए। जंगल फँडानी भएको पक्का भएपछि डिभिजन वन कार्यालयलाई कानुनी कार्वाही गर्न निर्देशन दिएको वाग्ले बताउँछन्।

डिभिजन वन कार्यालयले वन फँडानीलाई रोक्ने प्रयास गरिरहेको भए पनि सडक निर्माणको बहानामा सालका काठ काट्ने क्रम जारी छ। अझै वन कार्यालयको स्वीकृतिविना नै सडक निर्माण गरिँदा झन् समस्या सिर्जना भएको छ। 

तर, वडाध्यक्ष रामकुमार श्रेष्ठले आफूलाई फसाउन खोजिएको बताउँछन्। उनले भने, ‘समुदायकै लागि बाटो निर्माण गर्दा मलाई जंगल फँडानीको आरोप लगाएर फसाउने केही पक्ष लागिपरेका छन्।’

जनप्रतिनिधिको संलग्नता रहेको भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक वन अधिकृत उप्रेतीले बताए। उनले भने, ‘यदि जनप्रतिनिधि वा कुनै पनि व्यक्तिको संलग्नता भेटिएमा राष्ट्रिय वन २०७४ बमोजिमको कारवाही हुनेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.