|

दाङ : बबई गाउँपालिका पाँचमा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ।तीनतिरबाट वनजंगलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ। ४५ मिटर उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ।

झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ। त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ। झरनाको अवलोकन गर्न आउने त्यहीँ पानी खस्ने ठाउँमा पौडी खेल्ने पनि गरेका छन्। अहिले झरनाको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक ३०० देखि ४०० संख्यममा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको झरनाका कर्मचारी कुलबहादुर बुढाले बताए। उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ। मोटरसाइलको ३०, कार तथा जिपको २०० र बसको शुल्क २५० निर्धारण गरिएको छ।

विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, अहिले स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्रा विकले बताइन्। उनले झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारी साधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन र बाँकी रकम झरनाको विकासमा खर्च गर्ने गरेको बताइन्।

झरनामा आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जंगली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सके यसले अझै पर्यटकलाई आकर्षित गराउने र यहाँबाट आम्दानी बढाउन सकिने गाउँपालिकाले अहिले विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेको उपाध्यक्ष विकले बताइन्।

झरना हेर्न कोहलपुरबाट आएका ४३ वर्षीया कालिका रेग्मीले पहिलोपटक यहाँ आउँदा निकै आनन्द आएको बताए। व्यापार पेशामा संलग्न रहेको बताउँदै उनले आफूले यति राम्रो झरना होला भनेर नसोचेको भन्दै यसलाई अझै व्यवस्थितरूरुपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न सुझाव दिए।

तुलसीपुर उपमहानगरपालिका–१२ पशुपति माध्यमिक विद्यालयबाट वनभोज खानका लागि विद्यार्थीसहित पुगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको झरना अवलोकन गर्ने पहिलो रोजाइ भएको बताए। उनले झरनाको संरक्षण गरी भौतिक पूवार्धार निर्माण गर्न सके पश्चिम दाङको मुहार नै फेरिने बताए। 'झरना त धेरै लोभलाग्दो रहेछ। तर यहाँ केही समस्या पनि रहेछन्', उनले भने, 'छेउछाउमा वनभोज खान सेट, चमेना गृह, पर्यटकका लागि आवश्यक पर्ने शौचालय, पिउनेपानी तथा फोहोरको उचित व्यवस्थापन हुनु जरुरी छ।'

स्थानीय पत्रकार बालकृष्ण पाण्डेले झरना क्षेत्रको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताए। उनले विगतका वर्षमा नागरिकले गरेको अथक संरक्षण र राज्यका निकायले गरेको सहयोगले नै अहिले जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा पुरन्धरा झरना परिचित भएको बताए।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले झरनाको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाइसकेको बताए। उनले चालू आर्थिक वर्षमा गाउँपालिकाले पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न १५ लाख र प्रदेश ५ सरकारले ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनले अहिले त्यहाँसम्म पुग्ने बाटोमा कल्भर्ट तथा ग्राभेलको काम शुरु भइरहेको पनि बताए। उनले अब छिट्टै झरनास्थलमा खानेपानी, शौचालय, चमेनागृह, बिजुली, वनभोजस्थलका लागि आवश्यक सेट निर्माणलगायतका भौतिक पूर्वाधार निर्माण गरिनेसमेत जानकारी दिए।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करीब आठ किमी दक्षिणपचिश्ममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महिना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्ने थिए। यस झरनाको आफ्नै महत्त्व छ। यो एकान्त ठाउँमा छ। त्यहाँ वरपर कुनै बस्ती छैन। शताब्दीभन्दा पुरानो इतिहास बोकेको यो झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जंगलको बीचमा सानो बाटो बनाएर मानिस गाईवस्तु लिएर जंगलमा जाने, घाँस दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे। सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए।

झरना करीब एकसय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिरमा जाने गर्दथे। सो मन्दिरमा पुजारी पनि बस्ने गर्दथे। ती पुजारी पनि गाईलाई पानी खुवाउन,घाँस काट्न त्यही जाने गर्दथे। सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला पनि लाग्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.