|

दमक : भुटानी शरणार्थी युवाहरुको फुटबल क्लब फेन्स क्लब अफ विआरसी भुटानको आयोजनामा झापाको दमकमा ओविसिए चौँथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। 

विगत २५ वर्षदेखि पूर्वी नेपालको झापा र मोरंगमा बसोबास गर्दै आएका भुटानी युवाहरुले आगामी मंसिर २५ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपाल, भारत, भुटान र कतारका ८ फुटबल क्लबहरुले सहभागिता जनाउने जानकारी दिइएको छ।

क्लबका अध्यक्ष युवराज सम्पांग राईले तेस्रो मुलुकमा विस्थापित हुने तयारीमा रहेका शरणार्थीहरूले शरण दिने नेपाललाई सम्झनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको बताए। 

प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुनेले ६२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि कुल १९ लाख ७७ हजार २ सय रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। 

प्रतियोगितामा नेपालमा पहिलो पटक रेफ्रिहरुले ब्लुटुथ इयरफोनको प्रयोग गरेर खेल सञ्चालन गर्ने ओविसिएका निर्देशक तथा फिफा अमेरिकाका रेफ्रि जितु बस्नेतले जानकारी दिए। यसले खेललाई विवाद रहित बनाउन सहयोग गर्ने उनको भनाइ थियो। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले गर्ने आयोजकले जनाएको छ। 

खेलको उद्घाटन विश्व मानव अधिकार दिवशको दिन गरिने अध्यक्ष राईले बताए। उनले भने- ‘हामी शरणार्थीले धेरै दुःख भोगेका छौँ, त्यसैले प्रतियोगिताको उद्घाटन मानव अधिकार दिवसको दिन गर्ने निर्णय गरेका हौँ र प्रतियोगिताको समापन भुटानी राष्ट्रिय दिवसको दिनमा गर्नेछौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.