|

जुम्ला : महिलाले दिनभरि काम गरे पनि आफ्नो काम अनुसारको ज्याला नपाउँदा असन्तुष्टि जनाएका छन्। पातररासी गाउँपालिका-६ छ उर्थुचौताराका महिलाले समान कामको समान ज्याला नपाएको भन्दै गुनासो गरेका हुन्। उर्थुचौतारामा यतिबेला  शिव मन्दिर निमार्णको काम चलिरहेको छ।

त्यहाँ मन्दिरको निमार्णको लागि दिनभर नदीको ढुंगा बोक्ने  महिला मात्र छन् , पुरुष छैनन्। पुरुषले भने पर्खाल चिन्दै आएका छन्। महिलालाई एक दिनको पारिश्रमिक चार सय रुपैयाँ दिइन्छ भने पुरुषले आठ सय रुपैयाँ लिने गरेका छन्। कामबढी गर्नेमा महिला तर पुरुषलाई बढी रकम दिने प्रचन हाम्रो समाजमा अझै पनि यथावत् छ।

पातररासी छ उर्थुचौताराकी उजेली विष्टले छिन्, 'हामी महिलाले पहिलेदेखि अहिलेसम्म पुरुषले भन्दा बढी नै काम गरे पनि समान कामको समान ज्याला पाएकै  छैनौँ।' उनले थपिन् 'एकै काममा लागेका पुरुष र महिलाको श्रमिक रकम फरक हुँदा मन जल्ने गरेको छ।' तर समाजमा पहिलेदेखि नै पुरुष र महिला बीच थुप्रै खालका विभेद चलि आएको विष्टले बताइन्।

'कुरा समान ज्यालाको मात्र होइन, योजनाको रकम पहिले नि पुरुषले आफ्नो ज्यालाको लागी छुट्याउछन्। उनीहरूले आफ्नो ज्याला तोकेपछि मात्र बाँकी बचेको रकम जति छ त्यतिनै महिलाको कामको लागि बाडिन्छ। कहिले काँही त एक दिनभर काम गरे पनि दुई सय रुपैयाँ पनि भागमा पर्दैन्' उनले थपिन्, 'धेरैजसो महिलालाई रकमको बारेमा जानकारी नै दिदैनन् काम गराउछन् मात्र।' 

पातररासी गाउँपालिका ५ महिलाको कथा पनि  विष्टको जस्तै छ। त्यहाँका महिलाले पनि आफूहरूले पुरुषको बराबरको ज्याला महिलालाई नदिएको गुनासो गरेका छन्।

'महिलाको लागि अधिकार आएको छ भन्ने कुरा विभिन्न संञ्चार माध्यमबाट सुनिन्छ, तर कार्यन्वय किन गरिँदैनन्', पातररासी गाउँपालिका ५ लासी गाउँकी ६० वर्षीया रामतुला बुढाले भनिन्, 'महिलाको दिनचर्या चुलोचौकोमै बितेको छ। अहिले आएको स्थानीय सरकारले पनि डोको नाम्लो छुट्टाएको छैन। सबैको भाषण सुनिन्छ कार्यन्वयन हुँदैन।'

 दैनिक रूपमा मजदुरी गरेर छाँकटार्ने जुम्ला जिल्लाका महिलाले समान ज्याला नपाउँदा उनीहरूको दैनिक अहिलेसम्म पनि फेरिएको छैन। यस्ता विभेद स्थानीय सरकारले थाहा पाए पनि उनीहरूले महिलालाई समान अधिकार दिन नचाहेको चन्दननाथ नगरपलिका ३ की दलित महिला गौउकली कुला बताउँछिन्। उनले थपिन्, 'जति अधिकार आए पनि कागजी रूपमा मात्र सीमित छन्।'

पातररासी गाउँपालिकाका अध्यक्ष लक्ष्मीमान बोहोराले यो विषयमा आफूलाई थाहा नभएको बताए। उनले भने 'अब तत्काल वडा अध्यक्षसँग छलफल गर्नेछौँ,अब महिलाले पनि समान कामको समान ज्याला पाउनुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.