|

पर्वत : लामा र अग्ला झोलुंगे पुलहरूको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एसियाकै लामो झोलुंगे पुल निर्माणको काम शुरु हुने भएको छ।

जिल्लाको कुश्मा नगरपालिका १ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी ५ सय ६७ मिटर लामो पुल निर्माणको काम शुरु हुन लागेको हो। कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको उचाइ १ सय २२ मिटर रहने छ। पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

२०५९ सालबाट उक्त ठाउँमा पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको भएता पनि योजना पर्न सकेको थिएन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला भएको कारण यसमा विशेष सक्रियता देखाएपछि यस वर्षबाट पुल निर्माणको काम शुरु हुन लागेको हो। २०७७ सालको असार मसान्तसम्ममा पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर काम शुरु हुन लागेको कुश्मा नगरपालिका १ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए। 

नेपालमा अहिलेसम्म यस्तो खालको पुल नबनेका कारण पुलमा राखिने लठ्ठा र लठ्ठा तान्ने मसिनको अभाव भएकोले चीनबाट आवश्यक सामान खरीद गरेपछि पुल निर्माण कार्य अगाडि बढ्न लागेको हो। निर्माण कम्पनीका कर्मचारी नरहरी खड्काका अनुसार नेपालमा पहिलो पटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिकहरू प्रयोग गरेर काम सम्पन्न गरिने छ। ९ महिना अगाडिदेखि डिजाइनको काम शुरु गरिएको पुल निर्माणको लागि सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। इन्जिनियर सागरराम नेपालका अहिलेसम्म ३ सय ६५ मिटर सम्मका लामा भोलुंगे पुलहरू निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो पुल दक्षिण एसियाकै लामो झोलुंगे पुल हुनेछ।

पैदल यात्रा गरेर बागलुङ–पाङ आवतजावत गर्नका लागि झण्डै डेढ घण्टाभन्दा बढी समय लाग्ने गरेकोमा यो पुल बनेपछि बाटो १५ मिनेटमा छोटिने छ। पाङलाई पर्वतकै कृषि उत्पादनको पकेट क्षेत्रको रूपमा लिइन्छ। त्यहाँका कृषकले मौसमी तथा बेमौसमी तरकारीहरू उत्पादन गरेर झण्डै एक घण्टा टाढा पर्ने सदरमुकाम कुश्मा बजारमा लगेर बिक्री गर्ने गरेका छन्। यो पुल बनेपछि भने कुश्मा बजारमा बिक्री हुने गरेका कृषि उपजहरू बागलुङ बजारमा बिक्री हुने छन्। कृषकलाई एक घण्टाको यात्रा गरेर कुश्मा बजार पुगेर तरकारी बिक्री गर्नुभन्दा पुलमा १५ मिनेटको यात्रा गरेर बागलुङ बजारमा आफ्ना उपज बिक्री गर्न सजिलो र फाइदा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.