सिंहदरबारमा चन्द्रघण्टीदेखि राज्यको साइकल दुरुपयोग भएको टिप्पणीसम्म

|

काठमाडौं : प्रज्ञा प्रतिष्ठानसँगै रहेको नेपाल भारतमैत्री समाजको तेस्रो तलाको हलमा मंगलबार पूर्वप्रशासक, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधिदेखि धेरै वयोवृद्ध व्यक्तिहरूको उपस्थिति छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोलाइएको छ, महालेखापरीक्षक टंकमणि शर्मालाई। विशेष अतिथि छन् पहिलो अर्थसचिव तथा गभर्नर हिमालय शमशेर जबरा।

पहिलो महालेखापरीक्षकको कार्यलायको प्रतिवेदनसँग आफूले लेख्न थालेको ५६ औँ प्रतिवेदनको विषय जोड्दै शर्मा भन्छन्, ‘त्यतिबेला सरकारले किनेको साइकल व्यक्तिगत काममा दुरुपयोग भएको टिप्पणी लेखिएको रहेछ, अहिले मैले प्राडो र जहाजको दुरुपयोग भएको विषय लेख्दैछु।’ शर्माले महालेखापरीक्षकको कार्यालय पुगेपछि आफ्नो नामको अगाडि एक उपमा थपिएको विषय कार्यक्रमका बीचमा राखे। त्यो थियो ‘जरसाप’। उनी कुनै समयमा जरसाप बस्ने कुर्सीमा बसेका रहेछन्।

यो सन्दर्भ थियो किताब विमोचनको। शर्माले मंगलबार त्यही स्मृतिग्रन्थ (विप्लपुरुष चन्द्रबहादुर थापा)को विमोचन गरे। जुन वर्ष उनी जन्मिएका थिए त्यही वर्ष पहिलो महालेखापरीक्षकको रूपमा चन्द्रबहादुर थापले पद सम्हालेका रहेछन्। मंगलबार नेपाल प्रहरीबाट जागिरमा छिरेर  नेपाली सेनाको ‘जरसाप’ हुँदै पहिलो मुख्यसचिव भएर महालेखापरीक्षको रूपमा काम गरेका व्यक्ति चन्द्रबहादुर थापाको पुस्तक शर्माले विमोचन गरेका हुन्।

थापा जन्मिएको ११७ वर्ष भएको छ भने मृत्यु भएको ५२ वर्ष स्मृतिग्रन्थ लेख्न थालेको सात पाँच वर्ष। डा. विजयकुमार थापा भन्छन् ‘हामीले लेख लिन थालेपछि लेख लिएका व्यक्ति पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा लगायतको व्यक्तिको त निधन नै भइसक्यो।’

को हुन् चन्द्रबहादुर थापा?

स्मृतिग्रन्थअनुसार विस १९५८ सालमा जन्मिएर २०२३ सालमा चन्द्रबहादुर थापाको निधन भएको थियो। नेपाल एकीकरणको क्रममा उनको पुस्ता गुल्मीबाट दार्लिङबाट कालिकोट हुँदै काठमाडौं आएको  हो। उनी भने काठमाडौंको गोकर्णेश्‍वरमा जन्मिएको उल्लेख गरिएको छ। थापा  १९७७ सालमा श्रीनाथ पल्टनमा नियुक्ति भएका थिए। २००९ सालसम्म सुरक्षा निकायका विभिन्त तहमा बसेर काम गरेका उनी त्यतिबेला ब्रिगेडियर जर्नेलका रूपमा थियो।

२००७ देखि २००९ को बीचमा उनी काजमा वन र गृहमा सचिवको भूमिकासमेत हेरेको उल्लेख गरिएको छ। मालपोत तथा वन सचिव हुँदै भ्रष्टाचार निवारण अफिसको प्रमुख हुँदै उनी २०१२ सालमा नेपालको पहिलो प्रमुख 'सेक्रेटरी' भएका थिए। अहिले उनी पहिलो मुख्य सचिव भनिन्छ। प्रधानमन्त्री कार्यालयको बेवसाइडमा पहिलो मुख्यसचिवको रूपमा उनको नाम उल्लेख गरिएको छ।

२०१२ देखि २०१६ सम्म मुख्यसचिव भएका उनले पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य, डा. केआई सिंह र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष सुवर्ण शमशेरसँग काम गरेका थिए। विपी कोइराला नेतृत्वको सरकार गठन भएपछि २०१६ सालमा पहिलो महालेखापरीक्षक नियुक्ति भएका थिए भने २०१९ सालमा राजसभा पदेन सदस्य नियुक्ति भई २०२२ सालमा अवकास पाएका थापा २०२३ मंसिर २३ गते विराटनरगरमा पुगेर मृत्यु भएको उल्लेख गरिएको छ।

चन्द्रबहादुर थापाका बारेमा विज्ञहरूको धारणा

मंगरबार विप्लपुरूष चन्द्रबहादुर थापा पुस्तकको विमोचन गर्न आधा दर्जन प्राज्ञिक तथा विज्ञहरूले धारणा राखे। केही कुनै विषय जानकारी नभएको त केही अरूले भने सुनेको कुरा गर्दा प्रथम गभर्नर हिमालय शमशेर जवरा र प्रा. डा. भगवतीदास श्रेष्ठले नजिक रहेर काम गरेको अनुभव सुनाए।

श्रेष्ठले कांग्रेस सरकार आयो भने थापाको भविष्य के होला भनेर त्यतिबेला विश्लेषण गर्ने गरिएको बताउँछन्। ‘उहाँलाई कांग्रेस विरोधीको रूपमा चिनिन्थ्यो,  त्यो जर्नेलले त कांग्रेसलाई धुलो चटाइदिन्छ भनेर डर देखाइन्थ्यो’ श्रेष्ठले भन्छन्, ‘कांग्रेस सरकार आएपछि कस्तो सजाय दिने होला भनेर छलफल गर्ने गरेको थियो, तर विपी कोइराला नेतृत्वको सरकारले उहाँलाई महालेखापरीक्षको रूपमा नियुक्ति गरेको थियो।’

प्राध्यापक रामप्रसाद दाहाल ग्रन्थभित्र राखिएको शब्द उल्लेख गर्दै भन्छन्, 'विस १९९८ मा सजाय नहोस् भन्दै त्योबेला दिएको एक लाख रुपैयाँ टोपी खोलेर जुद्ध शमशेरका अगाडि पैसा राखेर यति ठूलो रकम घूस आयो भनेर देखाएको उल्लेख गरे’, उनले भने, ‘त्यो समयमा यति ठूलो रकममा पनि अनुशासन देखाउने पात्र कस्तो हुनुहुनथ्यो होला।’

पहिलो गभर्नर तथा पहिलो अर्थसचिव हिमालय शमशेर जबरासँगै काम गरेको अनुभव सुनाउँदै कामप्रति निकै निष्ठवान भएको बताउँछन्। ‘म अर्थसचिव रहँदा उहाँ प्रधानमन्त्री कार्यालयमा सचिव हुनुहुन्थ्यो। एक दिन हामी पार्टीबाट फर्कदै गर्दा राति ११ बजे त्रिपुरेश्‍वरमा हिँड्दै गरेको भेटिनु भयो, किन यति ढिला भनेर सोधेको सात बजे सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय सारेर बस्नु भएको रहेछ।’ उनले आफू गभर्नर हुने बेला थापालेसमेत समस्याको रूपमा देखेको तराईमा नेपाली नोट प्रयोग गर्ने विषय आफूले पूरा गरेपछि घरमा नै बोलाएर धन्यवाद दिएको प्रशंग उल्लेख गरे।

पूर्वअर्थसचिव युवराज भुसालले प्रधानमन्त्री कार्यालयमा थापाको फोटो देखिपछि सोधीखोजी गरेको अनुभव सुनाए। ‘को रहेछ भनेर निकै सोधीखोजी गरे उहाँहरू गुल्मीबाट (हाम्रै पारी गाउँबाट) नै फैलनू भएको रहेछ।’ पुस्तक विषय उल्लेख गर्दै भुसालले 'नेपालको वन, हरियो धन' बन्ने नारा थापाले सुरू गरेको बताए।

सिंहदरबारमा चन्द्रघण्टी राखेर कार्यतालिका बनाउने पनि उनै थापा रहेको विषय भुसालले उल्लेख गरे। ‘सिंहदरबारमा चन्द्रघण्टी अहिले पनि छ, कर्मचारीलाई अनुसाशनमा राख्न उहाँले बिहान १० बजे घण्टी बजेपछि भित्र आउने र बेलुका चार बजे घण्टी बजेपछि बाहिर निस्कने गरी घण्टीको व्यवस्था गरेको कारण चन्द्र घण्टी उल्लेख गरिएको रहेछ’ भुसालले भने।

महालेखापरीक्षक टंकमणि शर्माले थापाले लेखेको पहिलो महालेखापरीक्षकको प्रतिवेदनबाट नै महालेखापरीक्षकको कार्यालय निर्देशित रहेको बताए। 'पहिलो महालेखापरीक्षकको कार्यालको प्रतिवेदनमा जस्ता विषय समावेश गरिएका थिए अहिले पनि त्यस्तै विषयमा निरन्तरता छ’, शर्माले भने, ‘उहाँले जस्तो छवि कायम गर्नु खोज्नु भएको थियो म ११ औँ महालेखापरीक्षक पनि त्यही छवि कायम गर्दैछुँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.