|

काठमाडौं : नेपाली कांग्रेसले आसन्न महाधिवेशनलाई केन्द्रित गरेर निर्वाचन समिति गठन गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन समिति बनाएको हो। 

राष्ट्रियसभाका सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।समितिका सदस्यहरूमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सीताराम केसी रहेका छन्। 

त्यसैगरी, पार्टी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरिएको छ। प्रवक्ता शर्माले पार्टी महासमिति बैठकले तयार पारेको विधान अनुमोदनका लागि नेता लेखक संयोजक तथा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदीप पौडेल र जीवन परियार सदस्य रहे नियमावली निर्माण समिति पनि बनाइएको बताए। 

कांग्रेसले नेता भीष्मराज आङदम्बे संयोजक रहेको केन्द्रीय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङ थप गरी पूर्णता दिएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले आङदम्बे संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौंर सदस्य रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो। त्यसमा चौधरी र गुरुङलाई थप गरी सो समितिलाई पूर्णता दिइएको पनि पार्टीका प्रवक्ता शर्माले बताए। 

समुन्नतिको बाटोमा आउन विप्लवलाई आह्वान

कांग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफैँ सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर आफैँ सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढन सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्न पनि आग्रह गरेको छ।

निषेधबाट नभई संवाद र सहमतिकै आधार चन्द नेतृत्वको नेकपालाई विश्वास लिएरअघि बढन सरकारलाई शासकीय क्षमता देखाउन पनि बैठकले आग्रह गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.