|

बाँके : बाँकेमा दर्ता भएका हतियारमध्ये १९५ थान नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ। विभिन्न थरिका कुल सात सय ९८ थान हतियार दर्ता भएकोमा दुई सय ६४ थान हतियार स्थानीय तहले नवीकरण गर्ने र दुई वर्षको अवधिमा तीन सय ३९ थान हतियार नवीकरण भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।

उनले बाँके जिल्लामा दर्ता भएका हतियार बाहिरी जिल्लाबाट पनि नवीकरण गर्न सकिने भएकोले यहाँबाट नवीकरण नभएको हुनसक्ने बताए। ‘भरुवा बन्दुक स्थानीय तहबाट नवीकरण हुने र जिल्ला बाहिरबाट पनि नवीकरण गर्न सकिने व्यवस्था छ। यहाँबाट नवीकरण नगरेर अन्य जिल्लाबाट पनि गरेको हुन सक्छन्,’ प्रजिअ भुजेलले भने।

जिल्ला प्रशासन कार्यालयले अवैध रूपमा रहेका हतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचनामार्फत अपिल गरेको छ। १ चैतदेखि ३५ दिनभित्र अवैध रूपमा हतियार बुझाउन अपिल गर्दै प्रशासनले समयभित्र बुझाउनेलाई कुनै पनि कारवाही नहुने स्पष्ट पारेको छ।

कानुनबमोजिम लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले हतियार वा खरखजाना राखेको भए तोकिएको समयमा बुझाउन प्रशासनले भनेको छ।

आफुसँग भएको हतियार नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने पनि प्रशासनले जनाएको छ। ‘हातहतिया र खरखजाना बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेको कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै किसिमको कारवाही गरिने छैन,’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

तोकिएको समयमा पनि अवैध रूपमा हातहतियार राखेको पाइएमा त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.