|

बाग्लुङ : विद्यार्थीको मूल्यांकन शिक्षकले गर्छन्। यो सामान्य प्रक्रिया हो। तर, काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुनथला माध्यमिक विद्यालयका विद्यार्थीहरुले भने शिक्षकको मूल्यांकन गर्छन्।

विद्यालयले १९ जना शिक्षकमध्ये हरेक वर्ष एक जना असल शिक्षक छनौट गर्दछ। छनौटका लागि विद्यार्थीले मत दिने गर्दछन्। असल शिक्षक छनोटका लागि विद्यालयले तीन वटा आधार तयार गरेको छ। शिक्षण सिकाइ उपलब्धि, स्वमूल्यांकन र विद्यार्थीको रोजाइमा एक जनालाई असल शिक्षक घोषणा गर्ने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए।

शिक्षण सिकाइ उपलब्धिको मूल्यांकन विद्यालय व्यवस्थापन समितिले गर्छ, जसका लागि शिक्षकहरूले प्रमाणसहितका आधार पेश गर्नुपर्ने हुन्छ। स्वमूल्यांकन शिक्षक आफैंले गर्छन्। त्यसमा पनि आफूले आफूलाई मूल्यांकन गर्दा आधार पेश गर्नुपर्ने हुन्छ। विद्यार्थीको रोजाइका लागि विद्यालयले हरेक कक्षामा मतदानको व्यवस्था मिलाउने गरेको छ।

विद्यार्थीले शिक्षक छनौटमा मतदान गर्दा विभिन्न दश वटा सूचकका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामिछानेले बताए। शिक्षक विद्यालयमा आउने समय, कक्षा प्रवेश गर्ने समय, आफ्नो विषय र पाठ्यक्रममा रहेर अध्ययन अध्यापन गराउने वा नगराउने, कक्षाकोठामा बिताउने समय, समयमा पाठ्यक्रम सक्ने वा नसक्ने, नियमित गृहकार्य दिने र जाँच्ने, अतिरिक्त क्रियाकलाप, समसामयिक विषयमा जानकारी, सूचना र सञ्चार, अनुशासन जाँच गर्ने गरेको वा नगरेको लगायतका सूचकका आधारमा विद्यार्थीहरूले मतदान गर्ने लामिछानेले बताए।

विद्यार्थीले मतदान गर्दा तहगत रूपमा फरक–फरक शिक्षकलाई मतदान गर्ने व्यवस्था समेत मिलाइएको छ। सबै तहमा एकै जना शिक्षक नपुग्ने भएकाले तहगत रूपमा फरक–फरक शिक्षकलाई मत दिने व्यवस्था मिलाइएको विद्यालय प्रशासनले जनाएको छ। प्राथमिक, आधारभुत र माध्यमिक तहका विद्यार्थीले फरक–फरक शिक्षकलाई मतदान गर्ने र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नेतृत्वमा रहेको टोलीले मत परिणाम, स्वमूल्यांकन र शिक्षण सिकाइ उपलब्धिका आधारमा एकजना असल शिक्षक घोषणा गर्ने व्यवस्था छ। असल शिक्षक छनौटका लागि विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले मतदान गर्न सक्छन्। उनीहरूका लागि उमेर वा अन्य कुनै प्रक्रिया पुग्नु पर्दैन।

विद्यालयले असल शिक्षक छनौटका लागि गरेको अभ्यासले एकातर्फ शिक्षकलाई थप जिम्मेवार बन्न मद्दत गर्ने र अर्कोतर्फ विद्यार्थीहरूलाई मतदानको प्रक्रियाद्वारा कसरी असल नेतृत्वको छनौट गर्ने भन्ने विषयमा जानकारी हुने विद्यालयका शिक्षकहरू बताउँछन्। शिक्षक छनौट प्रकृयाले भावी दिनमा विद्यार्थीलाई देशमा हुने आम निर्वाचनमा सहभागी भएर असल नेता छान्नका लागि सहयोग पुर्याउने विद्यालयकी शिक्षिका इन्दु शर्माले बताउँछिन्। ‘नेपाल सरकारको जागिर खाएका हामी यसै पनि जिम्मेवार छौं,’ शर्माले भनिन्, ‘विद्यार्थी र विद्यालयले असल शिक्षकको रूपमा छनौट गर्दा काम गर्ने मनोबल बढ्ने र थप जिम्मेवार बन्न प्रेरित गर्ने रहेछ।’

विद्यालयले असल शिक्षक छनौट गर्दा शिक्षकहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार र प्रतिस्पर्धात्मक बनाउने गरेको शिक्षक डिलबहादुर कार्कीले बताए। ‘समयमा विद्यालय प्रवेश, कक्षाकोठा प्रवेश र पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापमा ध्यान दिन असल शिक्षक छनौटले थप दबाब पार्दो रहेछ,’ कार्कीले भने, ‘विद्यार्थीको बीचमा असल बनेर काम गर्ने रहर सबैलाई लाग्दो रहेछ।’

२०७१ सालदेखि असल शिक्षक छनौट गर्ने कार्यको सुरुवात गरेको विद्यालयले पहिला दुई वर्ष ५/५ जना असल शिक्षकहरू छनौट गरेको थियो। प्रतिवर्ष पाँच जना शिक्षक असल शिक्षकको रूपमा छनौट हुने, बाँकी शिक्षकमा म असलमा परिन भन्ने भान हुन थालेपछि २०७३ सालदेखि एक जना मात्रै छनौट हुने व्यवस्था मिलाइएको प्रधानाध्यापक थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.