|

सल्यान : नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्ये वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डे ताल संरक्षणको अभावमा पुरिन थालेको छ। ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको हो। अव्यवस्थित सडक निर्माण कारण ढुंगामाटो बगेर तालमा आउँदा ताल वर्षैपिच्छे पुरिँदै गएको हो। 

मन्दिरको छेउसम्म पानी हुने गरेको ताल अहिले पूर्व, दक्षिण भागबाट पुरिँदै गएको छ। तालको करिब २०० मिटरभन्दा बढी पुरिएको मन्दिरका पूजारी लालबहादुर गोसाइ बताउँछन्। दक्षिण भागको दुईवटा ठाडो खोलामा गल्छी निर्माण गर्न सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि चासो बेवास्ता गरिएको उनको भनाइ छ।

‘खोलाले बगाएर ल्याएको ढुंगामाटो सबै तालमा मिसिन्छ। यस्तै हो भने केही वर्षमै ताल नपुरिएला भन्न सकिँदैन,’ पूजारी गोसाइले भने, ‘स्थानीयवासी र सम्बन्धित निकायले ध्यान नदिँदा ताल पुरिँदैछ।’ गोसाइका अनुसार मन्दिरको छेउसम्म तालको पानी रहेको र पूजा गर्न जान चप्पल फुकाल्नु पर्ने बताए। अहिले धेरै ढुंगामाटो थुप्रिएर बगर बनेको र बगरमा प्रतीक्षालय बनेको छ।

खलंगा–सल्लीबजार सडक निर्माणका क्रममा बगेको माटो र ढुंगाले ताललाई धेरै क्षति पु¥याएको ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर बुढाले बताए। सडक निर्माणका क्रममा ढुंगामाटो तलतिर नखाल्न निर्माण कम्पनीलाई आग्रह गर्दा पनि ध्यान नदिँदा ताल पुरिँदै गएको उनको भनाइ छ। ‘ताल वडा न ८ मा पर्ने भए पनि नगरपालिकाले संरक्षणमा चासो दिएको छैन,’ उनले भने, ‘स्थानीय सरकारले संरक्षणका लागि प्रर्याप्त बजेट विनियोजन नगर्दा ताल आसपास तथा अवलोकन गर्न आउने पर्यटकलाई आवश्यक पूर्वाधार बनाउन सकिएको छैन।’ 

बजेट अभावका कारण अन्य पूर्वाधारलाई जोड दिन नसकिए पनि मन्दिरसम्म पुग्नका लागि सडक निर्माण गरिरहेको ताल रहेको क्षेत्रका वडाध्यक्ष कुलबहादुर पुरीले बताए। गत वर्षमा नगरपालिकाबाट प्राप्त ४० लाख रुपैयाँबाट ताल र मन्दिरसम्म पुग्नका लागि आधा सडक निर्माण गरिएको उनको भनाइ छ। 

प्रदुषित बन्दै ताल

तालको चारैतिरबाट सडक निर्माण भएकाले ताल खुम्चिँदै गएको छ। पर्यटकले फालेका फोहोरको व्यवस्थापन हुन नसक्दा प्रदुषित हुँदै गइरहेको स्थानीय तुलबहादुर गोसाइले बताए। ठाउँ–ठाउँमा फोहोर राख्नका लागि डस्बिनहरु राखिए पनि फोहोर यत्रतत्र फालिएको छ। साथै, खुला चरण क्षेत्र भएकाले बस्तुभाउ फोहोर पनि तालमा मिसिँदै गएको छ। 

असुरक्षित डुङ्गा 

तालमा आउने पर्यटकको पहिलो रोजाइ डुङ्गाबाट ताल परिक्रमा गर्नु रहेको छ। ताल पूरै परिक्रमा गर्न एक घण्टा लाग्छ। डुङ्गाबाट स्थानीयले राम्रै आम्दानी गरिरहेका छन्।

तर, त्यहि आम्दानीको स्रोतका रुपमा रहेको डुङ्गा असुरक्षित रहेको छ। तालमा रहेका २१ वटा डुङ्गा नै असुरक्षित छन्। सबै डुङ्गामा पानी छिर्ने समस्या छ। त्यसैले प्रत्येक डुङ्गामा पानी फाल्नका लागि जग राखिएको छ। डुङ्गामा छिर्ने र सानो आकारका हुँदा पर्यटकहरु जोखिम मोलेर डुङ्गामा चढेर ताल घुम्ने गर्दछन्।

२३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको लम्बाइ ८३४ र चौडाइ २५० मिटर रहेको छ। वर्षमा तीन पटक रंग फेर्ने यस तालको आवश्यक संरक्षणमा सबै पक्ष लागेमा जिल्लाकै आम्दानीको स्रोत बन्ने पक्का छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.