|

पर्वत : छिमेकी जिल्ला कास्कीका कृषकले पालन गरेका केही कुखुरामा बर्डफ्लुको संक्रमण देखिएपछि पर्वत जिल्लामा कास्कीबाट आयात गर्ने कुखुरामा रोक लगाइएको छ। छिमेकी जिल्लाका कुखुरामा संक्रमण देखिएपछि पर्वतमा पनि बर्डफ्लु भित्रिन सक्ने खतरालाई मध्यनजर गरी कुखुरा आयातमा रोक लगाइएको हो।

पर्वत जिल्लासहित साविकको धौलागिरी अञ्चलको एक मात्र प्रवेश नाका डिमुवामा लुकीछिपी रूपमा कुखुराको आयात हुन सक्ने भन्दै प्रहरीले पनि निगरानी बढाएको छ। कास्कीबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म पनि जिउँदो कुखुरा आयात हुने गरेको छ।

‘केही दिनदेखि कास्कीसहित देशका अरू जिल्लाका कुखुरामा पनि बर्डफ्लुको संक्रमण देखिएको छ। यो क्षेत्रलाई बर्डफ्लूबाट सुरक्षित राख्नको लागि आयातमा रोक लगाइएको हो। प्रहरीको सहयोगमा २४ सै घण्टा निगरानी गरिरहेका छौँ’ कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले भने। उनका अनुसार अन्य जिल्लाबाट कुखुरा लिएर पर्वत भित्रिँदै गरेका केही सवारीहरूलाई नाकाबाट नै फर्काइएको छ।

कास्कीमा बर्डफ्लु देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरू पनि उच्च जोखिममा रहेका र उच्च सतर्कता अपनाउने क्रममा केही समय पंक्षी आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.