पर्सा : अवैध कीटनाशक औषधि उद्योग सञ्चालन गरेको अभियोगमा पक्राउ परेका वीरगन्जका उद्योगी श्यामकुमार तुल्स्यान चार लाख रुपैयाँ धरौटीमा छुटेका छन्। जिल्ला अदालत पर्साको आदेशमा उनी बुधबार धरौटीमा छुटेका हुन्।
गतको फागुन २८ मा जिल्ला प्रशासन कार्यालयको अनुगनमनका क्रममा अवैध किटनासक औषधि उद्योग सञ्चालन गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको थियो। थुनामा रहेका उनलाई चैत ५ मा थुनामा राख्न दोस्रो पटक पाँच दिन म्याद थप भएको भोलिपल्ट अर्थात चैत ६ मा धरौटीमा छुटेका हुन्।
उद्योगी तुल्स्यानमाथि ‘सार्वजनिक हित स्वास्थ्य सुरक्षा तथा नैतिकता समेतको कसुर' को मुद्दा चलाइएको छ। उनको मुद्दामा जिल्ला अदालत, पर्साका न्यायाधीश लीलाराज अधिकारीको इजलासले ‘धरौटी दिन सके लिनु र साधारण तारिकमा छाडिदिनु नत्र पूर्वक्षका लागि थुनामा पठाइदिनू’ भन्ने आदेश भएको छ। सोही आदेशअनुसार तुल्स्यानले धरौटीमा छुटेको जिल्ला अदालत पर्साका शाखा अधिकृत तथा निमित्त सूचना अधिकारी भोलानाथ धमलाले जानकारी दिए।
तुल्स्यानले सञ्चालन गरेको वीरगन्ज महानगरपालिका–४ किसान एग्रो केमिकल्स स्वीकृतिविना सञ्चालन गर्दै आएको अनुमनका क्रममा पाइएको खुलेको छ। उक्त उद्योग सञ्चालनको स्वीकृति भने वीरगन्जको रामगढवाका लागि लिएको पाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा सूक्ष्म अनुगमन टोलीको नेतृत्व गरेका उज्ज्वलबहादुर बस्नेतले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।