|

तनहुँ : जिल्लामा माग अनुसारको माछाको उत्पादन नहुँदा पोखरीबाट निकाल्न नपाउँदै माछा सकिने गरेको छ। 

म्याग्दे गाउँपालिका–४ मनहरी बडहरेस्थित श्रेष्ठ माछा फार्मका कृषक गणेशकुमार श्रेष्ठले पोखरीबाट माछा निकाल्न नपाउँदै खरिदका लागि ग्राहकको घुइँचो हुने गरेको बताए। उनले खेतमा पोखरी निर्माण गरी माछापालन गर्न थालेको करिब चार वर्ष भयो। उनले भने ‘यहाँ उत्पादित माछा ग्राहकले बढी मन पराउँछन्, यहाँ चिसो पानीको माछा बढी स्वादिलो हुने हुँदा पोखरीबाट निकाल्ने समय हुन लागेपछि ग्राहकको घुइँचो हुने गर्छ।’

मंगलबार मात्रै एक सय किलोग्राम माछा पोखरीबाट निकालिएको भए पनि ग्राहकहरुको माग पुरा गर्न नसकेको श्रेष्ठले बताए। ‘आफ्नो फार्मबाट माछा निकाल्ने समय भएपछि आफूले बोकेर विक्रीका लागि जानुपर्ने अवस्था नरहेको उनले बताए। ग्राहक फार्ममै आएर लैजान्छन्। बाहिर लगेर बेच्नुपर्ने अवस्था भने छैन,’ उनले भने।

उनले माछापालन शुरु गरेको करिब चार वर्ष भएको छ।  तीन पोखरीबाट वार्षिक करिब १० लाखको माछा विक्री गर्ने गरेको श्रेष्ठले बताए। माछाको बिक्री वितरणबाट भएको आम्दानीबाट परिवार धानिएको उनले बताए। प्रतिकिलो ४०० रुपैयाँको दरले विक्री वितरण गर्दै आएको उनले बताए। उनले आफ्नो पोखरीमा उत्पादित माछा स्थायनीयवासीले खरिद गरेर नै सकिने गरेको बताए। ‘कहिलेकँही मात्रै बढी हुन्छ, त्यो समयमा खैरेनीटार र दमौलीसम्म पुर्‍याउछौँ, आफ्नो पोखरीबाट उत्पादन भएका माछा स्थानीयवासीका लागि नै खपत हुने गर्छ,’ उनले भने ‘अब एउटा पोखरीबाट माछा निकाल्न बाँकी छ, यो पनि यहीका स्थानीयले हारालुछ गर्छन्, माग बमोजिम माछा पुर्‍याउन सकेको छैन।’ 

६० वर्षीय श्रेष्ठ र श्रीमतीको दैनन्दिन माछाको स्याहारसुसार गर्ने गरेका छन्। उनीहरुले माछा समात्ने समयमा मात्रै स्थानीयवासीको सहयोग लिने गरेका छन्। श्रेष्ठले माछा ६\६ महिनामा निकाल्ने गरेको बताए। उनले माछाको भुरा पोखराबाट ल्याउने गरेको बताए। उनको पोखरीमा रघु, नैनी र कमन ग्रास जातका माछा उत्पादन हुने गरेको छ। 

जिल्लामा माग भएबमोजिमको माछा पुर्‍याउन नसकेको श्रेष्ठले बताए। ‘कतिले फोन गरेर माछाको माग गर्छन् तर उनीहरुसम्म नपुग्दै पोखरीबाटै बिक्री हुन्छ, खरिदका लागि आउने केही ग्राहक भने रित्तो हात फर्किन्छन्,’ उनले भने। 

जिल्लामा माछा पालन फस्टाउँदै गएको छ। जिल्लालाई आवश्यक पर्ने जति भने उत्पादन हुन नसक्दा पोखरा, चितवन, धादिङबाट आयात गर्ने गरिएको छ। पानीको उचित व्यवस्थापन गर्न सके माछापालन अझै फस्टाउने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.