|

पाँचथर : नेपाल र भारतको सिक्किमका नागरिक आवातजावत गर्दै आएको पुरानो नाका चिवाभञ्ज्याङ शान्ति र सुरक्षाको दृष्टिले संवेदनशील बनेको छ। चिवाभञ्ज्याङमा सिक्किमतर्फबाट सडक जोडिन करिब एक किलोमिटरभन्दा कम छ। यसले अवैध सामान ओसारपसारद, बहुमूल्य जडिबुटी र वन्यजन्तुको चोरी सिकारीका लागि तस्करलाई सहज हुने सुरक्षा अधिकारीहरू बताउँछन्। तर, नाकामा नेपालको सुरक्षा व्यवस्था शून्य छ। 

भारततर्फको क्षेत्रमा केन्द्र सरकार र सिक्किम प्रान्त सरकारको तीन वटा सुरक्षा निकायका सुरक्षाकर्मी वर्षौंदेखि तैनाथ छन्। यसले नेपालको सीमा सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने देखाएको यसबारे जानकारहरुको भनाइ छ। ‘भिन्न मुलुक भए पनि सीमावारि र पारि पारिवारिक सम्बन्ध रहेकाले चिवाभञ्ज्याङ नाका हुँदै दैनिक बाक्लै गरी आवातजावत हुन्छ,’ च्याङ्थापुको एक विद्यालयका शिक्षक बलराम ढुंगेल भन्छन्, ‘सीमा नाकामा नेपाली सुरक्षाकर्मी छैन।’

नेपालतर्फको नाकामा सडक सञ्जालले जोडिएको छ। सिक्किमतर्फ पनि सडकले थोरै बाँकी छ। त्यसैले सुरक्षा व्यवस्थापनको अनिवार्यता महसुस गर्न थालिएको छ। ‘चिवाभञ्ज्याङसम्म भारततर्फबाट निर्माणाधीन सडक जोडिन करिब एक किलोमिटरभन्दा कम छ। त्यो बाटो जोडिसकेपछि आगमन सजिलो हुन्छ,’ पाँचथरका पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती भन्छन्, ‘आगमन सजिलो हुने भएपछि आयात–निर्यातको दुवै काम हुने भएकाले त्यो अवस्थामा हामीले अनिवार्य रूपमा सुरक्षा व्यवस्थापन र प्राकृतिक सम्पदाको संरक्षण गर्नु पर्ने देखिन्छ।’

चिवाभञ्ज्याङ दुर्लभ वन्यजन्तु हाब्रेसँगै चित्तल, मृग, घोरल, भालु र विभिन्न प्रजातिका चौरी पाइने क्षेत्रको रुपमा लिइन्छ। पाँच औँले, बिखुमालगायत धेरै प्रजातिका बहुमूल्य जडिबुटी र खनिज पदार्थमा फलामसँगै सुनखानी पनि रहेको बताइन्छ। यी प्राकृतिक सम्पदादेखि वन पैदावर र वन्यजन्तुको संरक्षण गर्न सुरक्षा व्यवस्थाका लागि आवश्यक छ। नाका क्षेत्रको च्याङथापुका स्थानीय तारावीर राईका अनुसार भारतीय सुरक्षाकर्मीहरु नेपाली भूमिमा प्रवेश गरेर लालीगुराँसका रूख कटान गरेर दाउरा प्रयोजनका लागि लाने गरेका छन्। 

सुरक्षा मामिलाका जानकारहरूका अनुसार अन्तरदेशीय सडक सञ्जालले आपराधिक गतिविधिसँगै अवैध व्यापारदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा गम्भीर चुनौती थपिने सम्भावना रहन्छ। यस्ता सम्भावित चुनौतीलाई सामाना गर्दै नियन्त्रण गर्न भन्दै प्रदेश १ सरकारले सुरक्षा योजना बनाएको छ। जसअन्तर्गत चिवाभञ्ज्याङसहित प्रदेशको भारत सीमा क्षेत्रमा बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) राख्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन्। मन्त्री आङबो भने, ‘प्रदेश १ को सबै सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि र हाम्रो सीमाको सुरक्षाका निम्ती प्रदेश सरकारको तर्फबाट २१ वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न बजेटको व्यवस्था भइसकेको छ।’

संविधानतः सीमासम्बन्धी अधिकार संघ मातहतमा छ। संघीय सरकारले सीमाको सुरक्षा गर्ने अधिकार सशस्त्र प्रहरी बललाई दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.