प्रधानमन्त्रीले भरे पहिलो शेयर

|
शेयर भर्दै प्रधानमन्त्री ओली

काठमाडौं : जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्काशन गरेको छ। शेयरधनीहरूले तत्काललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। पहिलो चरणमा १० रुपैयाँको शेयर खरिद गर्नेले बाकी ९० रुपैयाँ भने दोस्रो चरणमा उपलब्ध गराउनुपर्नेछ। 

सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्याएको ३७ लाख पाँच हजार कित्तामध्ये १० प्रतिशत अग्रिम रूपमा शेयर निष्काशन गर्ने भएको हो।

प्रधानमन्त्रीले किने पहिलो शेयर 

जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो शेयर आफूले किन्ने घोषणा गरेअनुसार नै शेयर किनेका छन। प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटलबाट शेयर किनेका हुन्। 

छिटोमा चैत्र १२ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैशाख ६ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्याइएको छ। सर्वसाधारणको लागि छुट्याइएकोमध्ये तीन प्रतिशत अर्थात एक करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरूको लागि सुरक्षित गरेको छ।

कर्मचारीहरूलाई दिएर बाँकी रहेको ३५ करोड ९३ लाख ८५ हजार रुपैयाँ सर्वसाधारणको लागि छुट्याइएको हो। सर्वसाधारणका लागि छुट्याइएको शेयर मध्येकै १० प्रतिशत अर्थात तीन करोड ७० लाख ५० हजार रुपैयाँ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.