|

जनकपुरधाम : मिथिलाञ्चलको महाकुम्भ भनिएको १५ दिने मध्यमा मिथिला परिक्रमा जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सम्पन्न भएको छ। बुधबार मध्यरात्रिकालीन समयमा जनकपुरधाम आइपुगेको परिक्रमाका श्रद्धालुभक्तजनहरूले बिहीबार जनकपुरधाम घुमेपछि अन्तरगृह परिक्रमा सम्पन्न भएको हो।

मध्यमा परिक्रमाको अन्तिम दिन श्रद्धालुसहित विभिन्न गाउँ तथा शहर र सीमावर्ती क्षेत्र भारतबाट आएको साधुसन्त तथा महन्त र भक्तजनसहित जनकपुरधामबासीले समेत १५ किलोमिटर लामो जनकपुरको परिक्रमा गरेपछि सम्पन्न हुने प्रचलन रहेको छ। जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलीपल्ट होली मनाउने परम्पराअनुसार शुत्रबारमात्र यहाँ होली मनाइनेछ।

हजारौँको संख्यामा सहभागी रहेको अन्तरगृह परिक्रमा जनकपुरधामको वडा नम्बर ४ स्थित कदमचोकबाट शुरु गर्ने परम्परा रहे पनि आफुहरूलाई पायक पर्ने स्थानबाट परिक्रमा शुरु गरी सोही स्थानमा पुनः पुगेर समाप्त गर्नुपर्ने मान्यता रहीआएको जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णले बताए। परिक्रमामा श्रद्धालुहरूले किशोरीजी (रामसीता) को डोला सहित जनकपुरधामको परिक्रमा गर्दै होली खेलेर आ–आफ्नो घर फर्कन्छन।

परिक्रमा अन्तर्गत बृहत, मध्य र अन्तरगृह गरी तीन प्रकारका परिक्रमा गरिन्छ। तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरूको संख्या अहिले बढी हुने गरेको छ। डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखौँ महिला पुरुषको सहभागिता हुने गर्छ। लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ। १५ दिने माध्यमिकी परिक्रमलाई ‘मध्यमा परिक्रमा’ पनि भनिन्छ।

नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरी जिल्ला गरी १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन। मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्ला–बेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ।

मिथिला महात्म्य अनुसार १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको छ। यस यात्रामा सहभागी हुने श्रद्धालुभक्तजनले नेपालको १०७ तथा भारतको २६ गरी १३३ किलोमिटर भूमीमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ। परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गहा, सीतामढी, बैजनाथ धामका साधुहरू उल्लेख्य संख्यामा सहभागी हुने गर्छन। यात्रामा नेपालका विभिन्न स्थलबाट आएका साधुसन्त पनि रहने गछन।

१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक शुरु भएर फूलहर, मठिहानी, जलेश्वर, मडई, वकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.