|

रौतहट : फागु पर्वमा अपारधिक क्रियाकलाप हुन नदिने उद्देश्यले अहिले रौतहटको गाउँगाउँमा नेपाल प्रहरीको 'जोन' र 'पोनर' नामक तालिम प्राप्त कुकुरहरू घुमिरहेका छन्। हातहतियार तथा विस्फोटक र लागुऔषधि पदार्थलाई सुघेर पत्ता लगाउने विशेष तालिम प्राप्त कुकुरसहितको टोलीले मंगलबारदेखि नै चेकजाँच अभियानलाई तीव्र बनाएको छ।

होलीको अवसरमा लागुऔषधको अवैध व्यापार र अपराधिक क्रियाकलाप गर्ने उद्देश्यले राखिएका विष्फोटक पदार्थ पत्ता लगाउन ३ दिनयता रौतहटका गाउँगाउँमा तालिम प्राप्त कुकुरहरू घुमिरहेका हुन्। बिहीबार ती कुकुरसहित चन्द्रपुर नगरपालिकाको वडा २ को जुडीबेला, कलटोल, फूलबारी, वडा ३ को गैँडाटार, वडा ४ को चन्द्रनिगाहपुर मुख्य बजारलगायत क्षेत्रको स्थलगत अनुगमन तथा अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए।

उनका अनुसार तालिम प्राप्त जोन नामक कुकुरले विष्फोटक पदार्थको निगरानी गर्छ भने पोनर नामक कुकुरले लागुऔषधको निगरानी गर्ने गर्छ। होलीको मौका छोपेर गलत क्रियाकलाप गर्नेको निगरानी बढाइएको प्रहरी निरीक्षक थापाले बताए। प्रदेश ३ हेटौँडाको प्रहरी कार्यालयबाट मगाइएका यी कुकुरले रौतहटको गाउँगाउँमा गएर अपराधिक तत्त्वको अनुसन्धान गर्न सहयोग गर्ने उनको भनाइ छ।

बुधबार रौतहटको मध्य भाग गरुडा बजार क्षेत्रमा यी कुकुरहरूलाई घुमाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। करिब १ हप्ता रौतहटको शान्ति सुरक्षा सहयोग गर्ने बताउँदै प्रहरी उपरीक्षक खत्रीले केही दिनअगाडि सीमा क्षेत्रमा सवारी साधन चेकजाँचका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिरहेको बताए। नेपाल भारतको सिमाना गौर भन्सार क्षेत्र भएर आवतजावत गर्ने दुई र चार पांग्रे सवारी साधनलाई विशेष चेकजाँच गरेको उनले बताए।

मुख्य भन्सार नाका भएर लागुऔषध र अवैध हातहतियार भित्र्याउने गिरोहलाई नियन्त्रण गर्ने उद्देश्यले गौर भन्सारसहित जिल्लाको शंकाष्पद स्थानहरूमा चेकजाँच कडाइका साथ भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताए। गौर चन्द्रपुर सडक खण्डको झुनखुवा, जयनगर, गरुडा, सन्तपुर र चन्द्रपुरको साथै भारतसँग सीमा जोडिएका ३२ किलोमिटरको क्षेत्रमा समेत छड्के चेकजाँच गरेको प्रहरी उपरीक्षक खत्रीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.