|

बाँके : अपहरण काण्डमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई बाँके प्रहरीले ६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय मुल्ला भन्ने निजामुद्दिन साईलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

नेपालगन्ज उपमहामनगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरणपछि नौ लाख रुपैयाँ फिरौती लिएको आरोपमा बाँके जिल्ला अदालतले साईलाई नौ वर्ष कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, उनी अपहरण र  फिरौती रकम लिएदेखि नै फरार रहेका थिए। अपहरणमा परेका मुन्नुको अवस्था अझैँ अज्ञात छ।

साईले २६ असार, २०६९ मा मुन्नुलाई घर नजिकैबाट मुन्नुलाई अपहरण गरेर बेपत्ता पारेको जाहरी परिवारले दिएपछि तीन महिना पछि १५ असोजमा बाँके प्रहरीले किटानी जाहेरी लिएको थियो।

अपहरणपछि २० लाख रुपैयाँ फिरौती माग गरेको भन्दै पीडित परिवारले नौ लाख रुपैयाँ बुझाएका थिए। मामा सिराजुल रहमान अन्सारीमार्फत नौ लाख रुपैयाँ पाएपछि अपहरणमा संलग्नहरू पीडित परिवारसँग सम्पर्क विच्छेद गरेको प्रहरीले जनाएको छ। बाँके जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश हरिप्रताप केसीले फैसला गर्दै जरिवाना रकम तोकेका थिए।

साईसहितका नौ जनालाई अदालतले कैद सजाय र जरिवाना सुनाएका मध्ये  तीन जना भारतीय नागरिक छन्। मुन्नुका दाजु ताहिर अन्सारीले दिएको जाहेरीमाथि माग दाबीअनुसार नै अदालतले फैसला गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। अपहरणमा संलग्न डुडुवा गाउँपालिका–५, कम्दीका झल्लु धोबी र बक्रिदी शेष तथा भारतीय नागरिक इरसाद खान, मोइन कुरैसी र सिराजुल रहमान अन्सारी अझैँ फरार रहेको उनले बताए।

इन्द्रपुरकी सुष्मा बर्मा सादा तारेखमा र भवनियापुरका प्रमोद गिरीलाई अदालतले निर्दोष ठहर गरेको थियो। पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पौडेलले फरार रहेकाहरू पनि छिट्टै पक्राउ पर्ने बताए। ‘फरार रहेका अरूलाई पनि छिट्टै पक्राउ गरि कानुनी दायरामा ल्याइने छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.