|

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका गतिविधिले देश फेरि द्वन्दको भूमरीमा फस्ने दाबी गरेका छन्।  नेपाली कांग्रेस बैतडीले बिहीबार शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको अन्तरक्रिया तथा गिरीजाप्रसाद कोइराला स्मृति दिवस समारोहमा बोल्दै नेता लेखकले वर्तमान सरकार अधिनायकवादी बाटोमा लागेको आरोप लगाए।

वर्तमान सरकारका कारण एक वर्षकै अवधिमा नेपाली जनतामा निराशा छाएको उनको दाबी छ। वर्तमान सरकारले विकास निर्माणका कामहरूलाई अगाडि बढाउन नसकेको आरोप लगाउँदै कांग्रेस केन्द्रीय सदस्य लेखकले विगतमा शुरुवात गरेका योजनाहरू समेत अलपत्र अवस्थामा रहेको दाबी गरे। कम्युनिष्टहरूले चौबाटोमा छोडेको संविधान नेपाली कांग्रेसले निर्माण गरेको दाबी गर्दै नेता लेखकले विकास निर्माणका कामहरू पनि नेपाली कांग्रेसले नै पूरा गर्ने बताए। विप्लव नेतृत्वको माओवादी प्रति सरकारले देखाएको कडापन प्रति लक्षित गर्दै नेता लेखकले कम्युनिष्टहरू नै देशलाई द्वन्द्वमा फसाउन उद्दत रहेको आरोप लगाए।

नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लेखक प्रमुख अतिथी रहेका थिए। सो कार्यक्रममा पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट, महासमिति सदस्य चतुरबहादुर चन्द, पाटन नगरसभापति सिद्धराज भट्ट, महासमिति सदस्य विष्णुदत्त जोशी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ११० जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.