६१ मोटरसाइकलको वार्षिक खर्च १२ लाख

|

पर्वत : पर्वतका स्थानीय तह अन्तर्गत वडाध्यक्षहरुले चढ्ने मोटरसाइकलको खर्च एक वर्षमा झन्डै १२ लाख रुपैयाँ हुने गरेको छ।  जिल्लाका सबै वडाका वडाध्यक्षहरुलाई उनीहरूको आवश्यकता अनुसार मोटरसाइकल र स्कुटर प्रदान गरिएको छ। सात पालिका रहेको पर्वतमा ६१ वडा रहेका छन्।

सबै वडाका अध्यक्ष र सचिवहरूले एक एक ओटा मोटरसाइकल चढ्दै आएका छन्। गाउँपालिका तथा नगरपालिका कार्यालयमा रहेका मोटरसाइकल र स्कुटर बाहेक वडाध्यक्षहरुले मात्र प्रयोग गर्ने मोटरसाइकलको खर्च वार्षिक झन्डै १२ लाखको हाराहारीमा आउने गरेको छ। पर्वतको कुश्मा नगरपालिकामा १४ ओटा, फलेवास नगरपालिकामा ११ ओटा, जलजला गाउँपालिकामा ९ ओटा, मोदी गाउँपालिकामा आठ ओटा, महाशिला गाउँपालिकामा छ ओटा, बिहादी गाउँपालिकामा छ ओटा, पैयूँ गाउँपालिकामा सात ओटा वडा रहेका छन्।

यी प्रत्येक वडामा एउटा मोटरसाइकलको दरले ६१ ओटा वडामा ६१ ओटै मोटरसाइकल रहेको प्रवक्ता टिकाराम गौडेलले बताए।  गाउँपालिका तथा नगरपालिका कार्यालयले प्रयोग गरेका समेत गणना गन्ने हो भने संख्या अझै बढी रहेको छ।  

बिना लाईसन्स चल्छन् बाइक

केही वडाध्यक्षहरू युवा अवस्थाका रहेका भए पनि अधिकांश वडाध्यक्षहरु पाका उमेरका छन्। धेरैजसो यसअगाडि मोटरसाइकल नचलाएकाहरू छन्। उनीहरूको हातमा अहिले पनि सवारी चालक अनुमति पत्र नभएको नागरिकहरू बताउँछन्। उनीहरूले अझै पनि चालक अनुमति पत्र निकाल्न बेवास्ता गरिरहेका छन्। यद्यपि खुलेआम मोटरसाइकल चलाएर हिँड्ने गरेको देख्न पाइन्छ। सदरमुकाम कुश्मा आसपासका वडाका केही अध्यक्षहरूले बजार नजिकै भएका कारण मोटरसाइकल चलाउने प्रशिक्षण लिएर चालक अनुमति पत्र लिएका छन्। 

ग्रामीण क्षेत्रमा रहेका वडाध्यक्षहरु निकै कमको मात्र सवारी चालक अनुमति पत्र छ। यद्यपि उनीहरू बाङ्गिदै र हुत्तिँदै नजानी नजानी बिना लाइसेन्स मोटरसाइकल चलाई रहेका हुन्छन्। ग्रामीण क्षेत्रमा प्रहरीको निगरानी कम हुने र प्रहरीले भेटीहालेमा पनि वडाध्यक्षको परिचय पाएपछि छोड्ने पद्धतिका कारण लापरबाही भएको देख्ने नागरिकहरूको गुनासो छ। 

वडाका बाइक आफन्त र नातेदारको हातमा

वडाध्यक्ष वा सचिवहरूले नागरिकका काम छिटो सम्पादन गर्नको लागि भनेर सवारी साधन दिएको भए पनि ती मोटरसाइकलहरू वडाध्यक्षहरु भन्दा बढी उनीहरूका सन्तान, छिमेकी वा नातेदारले बढी चलाउने गरेको पनि नागरिकको गुनासो छ। सरकारी बाइक भएका कारण नै पाएको बेलामा आफन्त र इष्टमित्रहरूले वडाका मोटरसाइकलको दुरुपयोग गर्ने गरेको धेरै सुनिने गरेको छ। वडामा प्रयोग भइरहेका बाइक कहाँ छन्? कसरी चलेका छन्? कसले चलाएको छ? भन्ने बारेमा पालिकाहरूले पनि कुनै नियमन गर्दैनन्, जसका कारण वडामा प्रदान गरिएका मोटरसाइकलको दुरुपयोग बढी रहेको छ। 

आफ्नो हातमा चलाउने सीप नभएका वडाध्यक्षहरुले अरूलाई नै चलाउन लगाएर आफूले यात्रा गर्नुका साथै वडाका विभिन्न ठाउँमा पुग्ने गरेका छन्। सदरमुकाम कुश्मा बजारसहित ग्रामीण क्षेत्रमा गुडिरहेका मोटरसाईकहरू हेर्दा पनि वडाध्यक्ष तथा सचिवहरू सवार भएको कमै देख्न पाइन्छ। 

निगरानी गरिरहेका छौँ : ट्राफिक प्रहरी

ट्राफिक प्रहरी कार्यालय पर्वतले भने वडामा प्रदान गरिएका सेता नम्बर प्लेट भएका सवारीहरूमा वडाध्यक्ष वा सचिव नै चढेका छन् अथवा अरूले पनि चलाई रहेका छन्? भन्ने बारेमा निगरानी गरिरहेको बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौली भन्छन्, ‘हामीले हाइवेदेखि ग्रामीण क्षेत्रमा गर्ने चेकजाँचमा पनि यो विषयलाई राम्रोसँग ख्याल गरिरहेका छौँ। कहिलेकाहीँ बिदाको दिनमा पनि चल्ने गरेका पाएकालाई आवश्यक कारबाही गरेर छोडेका छौँ।’ यदि कहीँ कतै मोटरसाइकलको दुरुपयोग भएको भन्ने थाहा पाएमा आँपूmहरुले तुरुन्त कारबाही गर्ने उनको भनाई छ।

एक मोटरसाइकल पाल्न मासिक चार हजार 

वडामा रहेको एउटा मोटरसाइकल पाल्नको लागि मासिक कम्तीमा पनि चार हजार रुपैयाँ खर्च आउने गरेको छ। फलेवास नगरपालिकाका प्रवक्ता गौडेलका अनुसार वडाध्यक्ष तथा सचिवहरूको लागि प्रदान गरिएको मोटरसाइकललाई तेल खर्च स्वरूप मासिक १५ सय रुपैयाँ दिने गरिएको छ। यस्तै जलजला गाउँपालिकाले पनि मासिक तेल खर्च १५ सय रुपैयाँ नै दिने गरेको जलजला गाउँपालिकाका प्रमुख यमबहादुर मल्ल (रामकृष्ण) ले बताए।

कतिपय पालिका तथा वडाले भने शीर्षक नछुट्ट्याई एकमुष्ट रूपमा रकम निकासा दिने गरेका छन्। कुश्मा नगरपालिका वडा नं. ४ की अध्यक्ष मिना कर्माचार्यले मासिक रुपमा शीर्षक नछुट्याउ बार्षिक रुपमा एकमुष्ट रुपमा बजेट आउने र त्यसैबाट तेलदेखि मर्मतसम्मको काम गर्नुपर्ने बताइन्। यस्तै, बिहादी गाउँपालिकाका प्रमुख कमल भुषालले पनि एकमुष्ट रुपमा बजेट बिनियोजन गरेर वडाले खर्च गर्ने गरेको बताए।

जिल्लाका सबै पालिकाका वडाहरुको खर्चको हिसाव गर्दा  औसतमा एउटा वडाको मोटरसाइकल चलाउन मासिक रूपमा १५ सय देखि २ हजार रुपैयाँ पेट्रोलमा खर्च हुने गरेको छ। यस अनुसार ६१ ओटा मोटरसाइकलको लागि मासिक तेल खर्च ९१ हजार ५ सय रुपैयाँ र वार्षिक १० लाख ९८ हजार रुपैयाँ खर्च हुन्छ। 

यस्तै मर्मतमा एउटा मोटरसाइकलको वार्षिक कम्तीमा पनि १५ हजार रुपैयाँ खर्च हुने गरेको जलजला गाउँपालिका वडा नं. बनौँका अध्यक्ष गौबहादुर पुनले बताए। यो अनुसार सबै वडाका मोटरसाइकल मर्मतमा वार्षिक ९ लाख १५ हजार रुपैयाँ खर्च हुन्छ।

धेरैजसो मोटरसाइकलको मर्मतमा वार्षिक १८ देखि २० हजार र कोहीको त्यो भन्दा माथि पनि पुग्ने गरेको छ। जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका केही वडामा मात्र थोरै सडक कालोपत्रे भएको छ। अरू सबै मोटरसाइकलहरू कच्ची, ढुङ्गा गिट्टी भएको र हिलो बाटोमा चल्ने गरेका कारण इन्जिनदेखि पार्टससम्म विभिन्न समस्या देखिने गरेका छन्।

यस्तै, मोटरसाइकल तथा स्कुटरको कर बिमा सहित औसतमा वार्षिक ६ हजार रुपैयाँ राख्दा पनि तीन लाख ६६ हजार रुपैयाँ खर्च आउँछ। अधिकांश वडाध्यक्ष तथा सचिवहरूले चढ्ने बाइकहरू १६० सिसी र त्यो भन्दा माथिका रहेका छन्। अहिलेको नियम अनुसार १५० सी.सी. देखि २५० सिसी. सम्मका मोटरसाइकल वा स्कुटरको वार्षिक कर चार हजार रुपैयाँ लाग्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.