|

काठमाडौं : मार्च २१ पारेर नेपालमा पनि कविता दिवस मनाइएको छ। विश्व कविता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्य विभागले विशेष कवि गोष्ठी आयोजना गरेको हो।

देवकोटा सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले कविताको पठन संस्कृतिको विकास, यसको महत्व र गरिमाको सम्मानार्थ विश्व कविता दिवसको थालनी गरेको बताए।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविहरूले विश्वमा कवितालाई नयाँ उचाइमा पुर्‍याउन गरेको योगदानको कदर गर्दै विश्व कविता दिवसको परम्परा थालनी भएको बताए। 

कार्यक्रमका सभापति एवम् प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले विविध कविका विविध भाव र लयका कविताले आल्हादित बनाएको बताउँदै  कविता भनेको कृष्णमन्दिर र न्यातपोलजस्तो हुनुपर्ने तर्क गरे।

त्यस्तै सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले कवि धरणीधर कोइरालाले भनेजस्तै कविताले मानव जीवनलाई सार्थक बनाउने धारणा राखे।  गोष्ठीमा खुमनारायण पौडेल, जयन्ता पोखरेल, जीवनाथ धमला, कौशिला रिसाल, भीष्म उप्रेती, शान्ति शर्मा, रूपक अलङ्कार, घनेन्द्र ओझा, लिखत पाण्डे, भारद्वाज मित्र, विश्वविमोहन श्रेष्ठ, डम्बर पहाडी, श्याम रिमाल, गोपाल अश्क, विन्दु शर्मा, नन्दु उप्रेती, मधुसूदन गिरी, लक्ष्मी उप्रेती, रमेश पौडेल, नवीन प्यासी, बलराम दाहाल, शान्ति सापकोटा, जयन्ती सत्याल, कलानिधि दाहाल, प्रगति राई र देवकी अभिलाषीलगायत २७ कविले कविता वाचन गरेका थिए। 

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको निर्णयअनुसार सन् १९९९ मार्च २१ मा दिनदेखि विश्व कविता दिवस मनाउन थालिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.