|

पोखरा : गण्डकी प्रदेश सकारले यही चैत १० गते सुरु हुने एसईईमा सहभागी हुने छात्रालाई लक्ष्य गरी सेनेटरी प्याड वितरण गरेको छ। सरकार गठन भएपछि पहिलो पटक प्रदेशका एसईई परीक्षा केन्द्रहरुमा सेनेटरी प्याड पुर्‍याइएको हो।

गण्डकी प्रदेशको ११ मध्ये ९ वटा जिल्लामा सरकारले प्याड उपलब्ध गराउन बजेट पठाएको हो। 

मुस्ताङमा दुई वर्षअघि देखि नै गैरसरकारी संस्थाको सहयोगमा परीक्षामा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ। मनाङमा अवस्था हेरेर समस्या नहुने देखेपछि प्याड नपठाईएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यार्थीको संख्या हेरेर सरकारले रकम पठाएको सामाजिक विकास मन्त्रालय गण्डकीकी सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन्। 

‘परीक्षाको बीचमै महिनावारीको समस्या आयो भने पनि मानसिक रूपमा हतास नहुन् र बीचमै परीक्षा छोडेर हिँड्नुपर्ने अवस्था नआओस्, राम्रोसँग परीक्षा दिन सकुन् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो, उनले भनिन्। उनका अनुसार मन्त्रालयले विद्यार्थीको चाप हेरेर जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा रकम पठाएको छ। प्रत्येक जिल्लाले प्याड किनेर परीक्षा केन्द्रसम्म पुर्‍याउने छ। 

यो वर्ष सबैभन्दा धेरै कास्कीमा ७१ हजार रुपैयाँ पठाइएको छ भने नवलपुरमा ४३, तनहुँमा ४१, स्याङजामा ४०, बागलुङमा ३६, गोरखामा ३०, लमजुङमा २०, म्याग्दीमा १५ र पर्वतमा १३ हजार रुपैयाँ पठाइएको अर्यालले बताइन्। यो वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा २१७ वटा परीक्षा केन्द्रबाट ४८ हजार १४६ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन्।

नियमिततर्फ ४७ हजार ७८२ र एक्जाम्टेडतर्फ ३६४ जना परीक्षामा सहभागी हुँदैछन्, जसमध्ये ५४ प्रतिशत छात्रा छन् भने ४६ प्रतिशत छात्र छन्। छात्रामध्ये १५ प्रतिशतलाई लक्षित गरि सेनेटरी प्याड वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सरकारले यही कार्यक्रमका लागि चालू बर्षको बजेटबाटै १ करोड रुपैयाँ विनियोजन गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.