|
फाइल फाेटाे

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुलेको छ। 

बिहीबार राति १२ बजे आवेदन खुलेपछि अहिलेसम्म १५ हजार जनाले फाराम भरेको इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए। अनलाइन फारम भर्न सकिने व्यवस्था भएकाले घाम नझुल्किँदै यति धेरै आवेदन परेको हो। परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट यही १७ गतेसम्म भर्न सकिनेछ।

आवेदन फाराम दर्ता गर्दा परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाका सूचना अधिकारी भण्डारीको भनाइ छ। पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार जनाले मात्र आवेदन फारम भर्न सक्नेछन्। आवेदकले फारम भर्दा राहदानीको फोटो भएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ। त्यसैगरी अनिवार्यरूपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।

परीक्षा शुल्क चौबिस अमेरिकी डलर तोकिएको छ। आवेदकले जुन दिनमा फारम दर्ता गराउने हो, त्यसको अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंक र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ। कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने शाखाले जनाएको छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिनसक्ने बताइएको छ।

त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गैरकानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ। 

आजदेखि कोरियाली भाषा परीक्षाको आवेदन खुला, घरमै बसेर आवेदन दिन सकिने 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.