७० वर्ष माथिका नागरिकको स्वास्थ्य बीमा प्रिमियम सरकारले व्यहोर्ने

|

काठमाडौं : अबदेखि स्वास्थ्य बीमामा आबद्ध हुने परिवारका सदस्यले एक लाख बराबरको उपचार सेवा पाउने भएका छन्।

बिमा नियावली पास भएपछि यसअघि बीमित परिवारले पाउँदै आएको सेवामा दोब्बर गरिएको हो। यस्तै अबदेखि बीमांक रकम पनि दोब्बर हुने भएको छ। स्वास्थ्य बीमा गर्ने व्यक्तिले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार पाउनेछन्। त्यसका लागि प्रिमियम ३ हजार पाँच सय तोकिएको छ।

यसअघि प्रतिपरिवार २ हजार ५ सय तिरेपछि वार्षिक ५० हजारसम्मको उपचार सहुलियत पाउने व्यवस्था गरिएको थियो। अब भने एकलाख बराबरको सेवा पाउने स्वास्थ्य बिमा लागू गर्ने सरकारी निकाय समाजिक सुरक्षा तथा विकास समितिअन्तर्गत रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले बताए। उनले भने 'यसअघि बीमितहरूले ५० हजारको बराबरको मात्र उपचार सेवा पाउँदै आएका थिए, अब भने एकलाख बराबरको उपचार सेवा पाउने भएका छन्।'

ज्येष्ठ नागरिक बीमा सरकारले गरिदिने

यस्तै अबदेखि स्वास्थ्य बीमा गराउने परिवारका ७० वर्ष मुनिका परिवारको सदस्यको मात्रै प्रिमियम बुझाए हुने भएको छ। किनभने नयाँ स्वास्थ्य बीमा नियमावलीअनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिकको प्रिमियम तिर्ने दायित्व सरकारले नै व्यहोर्ने व्यवस्था भएको बोर्डका कार्यकारी निर्देशक पोखरेलले बताए। उनले भने 'अन्य नागरिकहरूको भन्दा उहाँहरूको उपचार सेवामा सरकारले विशेष ध्यान दिने भएको छ, जसले गर्दा उहाँहरूको उपचार सेवाको प्याकेज अरूको जस्तो हुँदैन विशेष हुन्छ, उपचार सुविधा पनि करिब ३ लाखसम्मको दिने व्यवस्था गरिएको छ।'

यस्तै उनले बीमाको प्रिमियम बुझाउँदा प्रतिपरिवार पाँच जना तोकिने गरेकोमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिक भए सो गणना नहुने बताए। ज्येष्ठ नागरिकबाहेकका पाँच जनालाई प्रतिपरिवारको रूपमा गणना हुनेसमेत कार्यकारी निर्देशक पोखरेलले बताए।

 सरकारी कर्मचारको लागि स्वास्थ्य बीमा अनिवार्य

अबदेखि सरकारी सेवामा रहेका सम्पूर्ण सरकारी कर्मचारीको लागू स्वास्थ्य बीमा अनिवार्य गरिएको समेत पोखरेलले बताए। उनका अनुसार नियमावली स्वीकृत भएसँगै राष्ट्रसेवक कर्मचारीहरूलाई बीमामा अनिवार्य रूपमा आवद्ध हुनुपर्ने प्रावधान रहेको हुनाले अबदेखि शिक्षक, निजामती सेवाका कर्मचारी, प्रहरी, सेनालगायतका जो सरकारी सेवामा छन् उनीहरूले अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुनु पर्ने नियावलीमा नै प्रवाधान रहेको निर्देशक पोखरेलले बताए। उनले भने 'स्वास्थ्य बीमाप्रति आर्कषण गर्नको लागि पनि सरकारी सेवामा रहेका सम्पूर्ण कर्मचरीलाई स्वास्थ्य बीमा अनिवार्य गरिएको हो।'

०७२ चैत २५ मा कैलालीबाट सञ्चालन स्वास्थ्य बीमा कार्यक्रम अहिले ३६ भन्दा बढी जिल्लामा सञ्चालन भइसकेको छ भने अब ११ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने योजना बनाएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अहिले विभिन्न ३६ भन्दा बढी जिल्लाका नौ लाख ३२ हजार नागरिक समेटिएका छन्। जसमा अतिविपन्न वर्गमा पर्ने नागरिकको संख्या एक लाख ३२ हजार छ। स्वास्थ्य बीमा कार्यक्रम सबैभन्दा बढी पाल्पा र कास्कीमा प्रभावकारी देखिएको छ। स्वास्थ्य बीमा अभियानमा सदस्य बनेका मध्ये सबैभन्दा बढी कैलालीका नागरिकले बीमावापत् उपचार लिएका छन्।

आर्थिक वर्ष २०७४/०७५ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचकांकमा आमूल परिवर्तन ल्याउने र मुलुकलाई विकासशील मुलुकको सूचीमा पार्ने लक्ष्य राखेको छ।

 हालसम्म १४ लाख २३ हजार ६७२ जना स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् भने एक अर्ब २२ करोड ३७ लाख ३८ हजार रुपैयाँ बीमितबाट सरकारले उठाइसकेको छ। एक अर्ब २२ लाख रुपैयाँ बढी रकम बीमितहरूको उपचारका लागि अस्पतालहरूलाई दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.