'काठमाडौंको घर समाजको स्तर मापक बन्यो'

|

काठमाडौं : मुलुक संघीय व्यवस्थामा गए पनि शक्तिदेखि बस्तीसम्म काठमाडौंमै केन्द्रित भइरहेको छ। प्रदेश र स्थानीय सरकारहरूले सिंहदरबारले अधिकार नदिएको अर्थात् अहिले पनि शासकीय शक्ति सिंहदरबारमा नै केन्द्रित रहेको गुनासो गरिरहेका बेला मुलुकको बस्ती पनि काठमाडौं केन्द्रित भइरहेको छ।

संघीयता आएपछि काठमाडौंको बस्ती पातलो होला वा केही घट्ला भन्ने अपेक्षा गरिएको थियो। तर, दिनप्रतिदिन काठमाडौंमा घर बनाउनेको संख्या घटेको छैन।

पछिल्लो समय काठमाडौं महानगरपालिकाभित्र घर निर्माण गरेर परिवार बसाउनेको संख्या घट्नुको सट्टा बढ्दै गएको छ।

यसरी राजनीतिक व्यवस्था र शासकीय स्वरुपमा परिवर्तन भए पनि काठमाडौंमा नै घर बनाउने र परिवार बसाउने आम भावनामा परिवर्तन आएको छैन। काठमाडौं महानगरपालिकामा घरको नक्सा पास गरेको तथ्यांक हेर्दा आम मानिसलाई संघीय राज्य व्यवस्थाले खासै छोएको देखिँदैन।

२०७२ वैशाखको १२ गतेको भूकम्प पछाडि भौगोलिक रूपले भूकम्पिय जोखिममा रहेका कारण काठमाडौं असुरक्षित छ भनेर त्रास फैलिएको थियो। भूकम्पको त्रासले पनि  खासै असर परेन, अझ त्यसपश्चात घर बनाउनेको संख्या बढेको छ।

मुलुकको शक्तिको केन्द्र काठमाडौंमा नै हुनुले र अन्य सहरका तुलनामा यहाँ मानिसका आधारभूत आवश्यकता पूरा गर्ने सुविधा तुलनात्मक रूपमा बढी हुनु नै यहाँ आकर्षण बढेको मान्न सकिन्छ।

काठमाडौं महानगरभित्र मात्रै पछिल्लो समय घर निर्माण गर्नेको संख्या वर्षैपिच्छे बढ्दै गएको छ। महानगरभित्र घर निर्माण गर्नका लागि पास गरिएका नक्साको संख्या हेर्दा पछिल्लो पाँच वर्षमा मात्रै दोब्बरले घरसंख्या बढ्न लागेको छ।

आर्थिक वर्ष २०७०/७१ मा काठमाडौं महानगरपालिकाभित्र दुई हजार ५३१ घरका नक्सा पास भएका थिए। यसरी घर निर्माणका लागि नक्सा पास गर्नेको संख्या जारी आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वर्ष २०७०/७१ को भन्दा झन्डै दोब्बर हुने देखिन्छ। जारी आर्थिक वर्ष २०७५/७६ को सात महिनामा मात्रै तीन हजार ८१६ घरका नक्सा पास भएको काठमाडौं महानगरको तथ्यांकमा उल्लेख छ।

२०७२ वैशाख १२ गतेको भूकम्पले पनि काठमाडौंमा घर निर्माणमा प्रभाव पारेको देखिँदैन।

काठमाडौं महानगरपालिकामा रहेको घर नक्सा पासको तथ्यांक हेर्दा उक्त तथ्य देखिन्छ। पछिल्लो समय नक्सा पास गर्नेको संख्या वर्षैपिच्छे बढेको देखिन्छ। आर्थिक वर्ष २०७१/७२ मा केही कमी आएको भने देखिन्छ। उक्त आर्थिक वर्षमा एक हजार ६१८ नक्सा पास भएका थिए। आर्थिक वर्ष २०७२/७३ मा नक्सा पास गर्नेको संख्या थोरैले बढेको देखिन्छ। यो आर्थिक वर्षमा दुई हजार ८० नक्सा पास भएका छन।

आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ५४२ नक्सा पास भएका छन। यसरी काठमाडौं महानगरको नक्सा पासको तथ्यांक हेर्दा वर्षैपिच्छे घरसंख्या बढ्दो देखिन्छ।

व्यवस्थित सहर बनाउन के छन् महानगरका योजना?

काठमाडौं महानगरमा खुला ठाउँ छैनन। भएका खुला ठाउँमा पनि भवन र घर निर्माण धमाधम भइरहेका छन। सहर व्यवस्थित पनि छैन। यस्तो अवस्थालाई रोक्न र महानगरवासीलाई व्यवस्थित बनाउन लागिपरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको दाबी छ।

प्रवक्ता डंगोलले भने, 'घरको संख्या मात्र बढाउने चाहना महानगरको छैन। यहाँको बस्तीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर पनि महानगर लागिरहेको छ।'

'काठमाडौंमा घर बनाउँन आउनेलाई महानगरले स्वागत गर्छ, बनाउन पाउँदैनौ भन्दैन,' उनले भने, 'घरको संख्या बढ्नु भनेको काठमाडौं प्रतिको आकर्षण हो, महानगरले व्यवस्थित गर्न पनि लागेको छ।'

उनले यहाँ नआउ भन्न नमिल्ने भए पनि नयाँ घर बनाउन चाहनेले भने यहाँ ठाउँ छैन भनेर बुझिदिए हुन्थ्यो भन्ने महानगरलाई लागेको बताए। उनले भने, 'यहाँ आउने नागरिकले पनि यहाँ मात्र सहर छैन, अरु ठाउँ पनि बस्नयोग्य छन् भनेर बुझ्नु जरुरी छ।'

मुलुकका अन्य सहरमा पनि सुविधा बढाएर काठमाडौंप्रतिको आकर्षण कम गर्नुपर्ने उनको भनाइ थियो।

काठमाडौंमा के छ? जसले यहाँ दिनप्रतिनिदिन बस्ती बढ्दै छ? यो प्रश्न हामीले समाजशास्त्री डा. दिनेश प्रसाईंलाई सोध्यौँ। जवाफमा उनले काठमाडौंमा नेपालका अन्य सहरको तुलनामा स्वास्थ, शिक्षा र रोजगारीका सुविधा र अवसर रहेको बताए।

राजनीतिक परिवर्तन भए पनि मानिसको मन र चाहना परिवर्तन हुन नसकेको डा. प्रसाईंको टिप्पणी थियो। 'मानिसलाई काठमाडौंमा सबैथोक छ, यहाँ भएको कुराहरू बाहिर हुन अझै केही समय लाग्ने' मानिसमा गढेर बसेकाले काठमाडौंमा बस्ती विस्तारमा कमी नआएको उनको भनाइ थियो।

शासकीय स्वरुप र राजनीतिक व्यवस्था परिवर्तन भए पनि राज्यले नागरिकको चेत बदल्न नसकेको प्रसाईंको धारणा थियो।

'सामाजिक स्तर बढ्छ भन्ने उदेश्यले पनि काठमाडौंमा घर बनाउनेको संख्या बढेको छ,' डा. प्रसाईंको भनाइ थियो, 'नेपाली समाजमा भनेको अहिले स्तर नाप्ने क्रममा बढिरहेको छ। यसले गाउँ रित्तो बनाएको ख्याल गरेका छैनन। देशका नागरिक र देशका ठूलो शहरलाई दीर्घकालिन गर्छ।'

नेपालीमा काठमाडौंप्रति भ्रम रहेको डा. प्रसाईको भनाइ थियो। उनले भने, 'काठमाडौंमा घर भएदेखि के-के न भइन्छ भन्ने छ मानिसलाई। हुन त काठमाडौंमा घर भए पनि नभए पनि केही हुने होइन। समाजमा यस्तो सोच बनेपछि मानिसको त्यो सोचले नै डोहोर्‍याउँदो रहेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.