|

काठमाडौं : नेपाली लोक दोहोरी क्षेत्रमा युवा पुस्ताको संलग्नता बढ्दो छ। उत्कृष्ट शब्द सिर्जना र लयले एक पटक फेरि नेपाली लोक दोहोरी जुर्मुराएको छ। कुनै बेला लोकगीत भनेर नाक खुम्च्याउने पुस्ता अहिले असल स्रोता बनेका छन्। लोकगीतमा खुलेर नाच्छन्। गाउँछन् र रमाउँछन्।

यो अवधिमा लोक गीत संगीत क्षेत्रमा ठूलो उतारचढाव आएको छ। कुनै बेला लोक तथा दोहोरी गीत आर्थोपार्जनमा ठूलो भूमिका खेल्ने गरेको थियो, जतिबेला क्यासेटको जमाना थियो। क्यासेटको जमाना हराउँदै जाँदा सिआरबिटी/पिआरबिटीको जमाना आयो। प्रविधिको विकाससँगै लोक सांगीतिक क्षेत्र धरासायी बन्दै गयो। सर्जकहरू विकल्प खोज्दै कोही विदेशिए। कोही विकल्पमा कुनै पेशामा अँगाल्दै लोक सांगीतिक क्षेत्रमा निरन्तरता दिइरहे।

पछिल्लो समय लोकगीतको बजार पुन: फराकिलो बन्दै गएको छ। मेला, महोत्सव तथा विदेशमा हुने कार्यक्रमले अहिले लोक तथा दोहोरी सर्जकहरूलाई राहत दिएको छ। अहिले युट्युबको जमाना आइसकेको छ। सर्जकले आफ्ना गीतहरू युट्युबबाट सार्वजनिक गर्ने क्रम तीव्र हुँदै गइरहेको छ। अहिले कुन गीत कति चर्चामा छ भन्ने मूल्यांकन युट्युबको ट्रेण्डिङलाई आधार मानिन्छ। युट्युबको ट्रेण्डिङमा नेपाली लोक तथा दोहोरी गीतले आफ्नो पकड जमाउँदै आएको छ। युट्युबको माध्यमबाट राम्रा सिर्जना गर्ने सर्जक रातारात सेलिब्रेटि बनेका छन्। यससँगै युट्युबबाटै उनीहरुले राम्रो आम्दानी गर्दै आएका छन्।

अघिल्लो साता मात्र युट्युबमा सर्जक वसन्त थापाको शब्द, लयको जूना श्रीस र रवि कार्कीको आवाजमा 'जाम सुस्तै' शीर्षकको लोकगीत बजारमा आयो। यस गीत आम दर्शकको रोजाइमा परेको छ। सामाजिक सञ्जालमा यसको सर्वत्र चर्चा छ। टिकटकमा पनि यसको लोकप्रियता उल्लेख्य छ। हजारौँले टिकटक भिडियो बनाएका छन्।

लामो समयदेखि सञ्चारकर्ममा आवद्ध रविले यसै साता पुनः 'सयौं जुनी' बोलको पन्चेबाजा गीत सार्वजनिक गरे। यो गीत बजारमा ल्याउन 'जाउँ सुस्तै सुस्तै'को लोकप्रियताले ठूलो मद्दत गरेको गायक कार्की बताउँछन्। भन्छन्, 'पहिले सञ्चारकर्म र हाँस्यव्यङ्ग्यमा रमाएको थिएँ। आक्कलझुक्कल गीत पनि गाउथेँ। जाउँ सुस्तैको लोकप्रियताले लोकगीत संगीतलाई नै पेशा बनाउने सोँचमा छु।'

'बेनी बजार झर मायालु' प्रविण खत्रीको शब्दमा, कार्कीको संगीत र स्वरमा पहिलो गीत बजारमा आएको थियो। पहिलो गीत पनि चर्चामा रह्यो उनको। दोस्रो सहकार्य उनले वसन्त थापासँग गरे। 'जाउँ सुस्तै' यस गीत पनि उनको अघिल्लो गीतजस्तै दर्शकको माया पाइरहेको छ। जसमा अभिनय वसन्त थापा, जान्वी बस्नेत, अतिथि कलाकारको रूपमा गायकद्वय कुलेन्द्र विश्वकर्मा र रामजी खाँड रहेका छन्। वसन्तको अफिसियल पेजबाट दुई साताअघि सार्वजनिक भएको यस गीतमा दुई हजार नौ वटा कमेन्ट छन् भने चौध लाख पटक हेरिएको छ। यस गीतबाट रविको व्यस्तता ह्वात्तै बढेको छ। विभिन्न जिल्लामा उनलाई आमन्त्रण गर्न थालिएको छ।

अहिले सांगीतिक क्षेत्रमा 'मलाई देखेर' बोलको गीत पनि चर्चामा छ। जसमा स्वर कुलेन्द्र विश्वकर्मा र मेलिना राईको छ। लय र शब्द ध्रुव शर्माको छ। म्युजिक नेपालको अफिसियल पेजबाट तीन महिनाअघि सार्वजनिक भएको उक्त गीतलाई लगभग ४५ लाख पटक हेरिएको छ। दुई हजार २१ प्रतिक्रिया आएका छन्। अधिकांश प्रतिक्रिया सकारात्मक छन्। यसका जूना सुन्दास र ध्रुव शर्माको अभिनय छ। यस गीतलाई पनि सामाजिक सजालमा खुबै मन पराइएको छ। यसका सर्जक ध्रुव भन्छन्, 'आफ्नो मिहिनेतलाई दर्शकले मन पराउँदा आफूमा झन् ऊर्जा आउँदो रहेछ।' यसअघि उनका केही गीत बजारमा आए। तर उक्त गीतहरू चर्चामा आउन सकेनन्। उनी भन्छन्, 'अहिलेको प्रविधिको विकास र परिवर्तनलाई त्यस बेलासँग तुलना गरेर हेर्ने मिल्दैन। यद्यपि, मेरा गीतहरूले म चाहिँ सन्तुष्ट थिएँ।'

ध्रुव पेशाले कृषि विद्यालयका प्रशिक्षक हुन्। फुर्सदमा गीत सिर्जनामा लाग्छन्। उनी भन्छन्, 'आफ्नो क्षमता र दक्षताले भ्याए जति आफूले जानेको क्षेत्रमा लाग्नुपर्छ जस्तो लाग्छ।' एकातिर कृषि विद्यालयको प्रशिक्षक र एकातिर सांगीतिक क्षेत्रमा सिर्जनाकर्म त्यति सहज भने नरहेको उनले बताए।  गीतको लोकप्रियतासँगै उनको माग पनि बढ्दै गएको छ। विभिन्न सर्जकहरूले नयाँ गीतको माग गरिरहेको उनको भनाइ छ। भन्छन्, ' माग बढ्दो छ। तर वर्षमा एउटा मात्र गीत सार्वजनिक गर्ने लक्ष्य छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.