|

  • शर्मिला पाठक

काठमाडौं : काठमाडौं महानगरपालिकाले बाघदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ। २०७२ वैशाख ११ गतेको भूकम्पका कारण पूर्णरूपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएको हो। बाघदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो।

उक्त आदेशमा महानगरले भवन भत्काउन दिएको ठेक्का पनि बदर गरिएको छ। महानगरसँग बाघदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो। उक्त आदेशमा बाघदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन परमादेश जारी भएको थियो।

उक्त भवन निर्माण भएको सय वर्ष नपुगेको तर भूकम्पका कारण जीर्ण भएको भन्दै महानगरले भत्काउन खोजेकामो १०० वर्ष नभए पनि कलात्मक भवन संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको परमादेशमा उल्लेख थियो।

गोर्खा भूकम्पपछि बाघदरबार भत्काउन लाग्दा विरोध भएपछि कामपाले प्रबलीकरण गर्ने निर्णय गरेको थियो तर महानगर प्रमुखमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले फेरि बाघदरबार भत्काउने निर्णय गरेर ठेक्का प्रक्रिया अघि बढाएका थिए। उनले यो भवन बाघदरबार नभएर हरि भवन भएको तर्क अघि सारेका थिए। करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ। प्राचीनकाल, मध्यकाल र आधुनिक गरी तीन कालखण्डको ढाँचामा उक्त भवन निर्माण गर्ने कामपाको योजना थियो।

यसअघि पनि सम्पदा बचाऔँ अभियानकर्मीले उक्त दरबार संरक्षण गर्न आग्रह गर्दै आएका थिए। भत्काउने काम शुरु भएको तीन महीनामा सक्ने र एक अर्ब ५० करोड रुपैयाँको लागतमा पुनःनिर्माण गरिने कामपाको योजना थियो। गोर्खा भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बाघदरबारका राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन।

भीमसेन थापाले राजा गीर्वाणवीरविक्रम शाहबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको र विक्रम संवत् १८६८ तिर बाघरदरबार बनेको इतिहासकार दिनेशराज पन्तले बताए। उनले भने, 'अहिलेको भवन बाघदरबारको भवन होइन, बाघदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो। हालको दरबार हरि शम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बाघ दरबार भन्दा पनि फरक पर्दैन।'

विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः माथवरलाई नै फिर्ता गरिएको थियो। त्यसको एक वर्षपछि विसं १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंहको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनःसरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ।

उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोग गरेका थिए। विसं १९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरेका थिए। त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरि शम्शेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको हो। विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो। विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले उक्त दरबार कामपालाई दिएकाले त्यसै वर्ष चैत २७ गतेदेखि महानगर त्यहाँ सरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.