|

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले ‘मुलुकी संहितासम्बन्धि केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’का केही दफा संविधानको मर्म र भावना विपरीत हुनेगरी आएको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन।

प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र महेश्वरजंग गहजराजले सो विधेयकमा ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद गर्ने र अन्य चोट पुर्‍याएमा ५० हजारसम्म जरिवान हुनेछ’ भन्ने प्रावधान संविधान विपरीत आएको उल्लेख गर्दै तत्काल हटाउन माग गरेका हुन।

शुक्रबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यसमेत रहेका सांसद तामाङले धार्मिक तथा जातीय समुदायमाथि गम्भीर आघात पार्ने खालको प्रावधान सो विधेयकमा उल्लेख गरिएको भन्दै आपत्ति पनि जनाएका हुन। उनले सो प्रावधान हटाउन पनि सरकारसँग माग गरेका थिए।

समितिका अर्का सदस्य गहतराजले संविधानको मर्म र भावना विपरित ‘गाई वा गोरु मार्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद गर्ने’ सो विधेयकमा राखिएको प्रावधान संविधानको भावना विपरीत भएकाले तत्काल हटाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए।

समितिका अर्का सदस्य प्रेम सुवालले जब्बरजस्ती करणी गर्नेमाथि कडा कार्वाही हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका थिए। उनले सम्पत्ति नभएका व्यक्तिले जब्बरजस्ती करणी गरेमा उनीबाटै क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका थिए। विधेयकमा सम्पत्ति नभएका व्यक्तिलाई जब्बरजस्ती करणको अभियोग लागेमा सो व्यक्तिको क्षतिपूर्ति पीडित पक्षलाई राज्यले उपलब्ध गराउने उल्लेख गरिएको छ। त्यसो गरिए दोषीले उन्मुक्ति पाउने सुवालको भनाइ छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय निरुपणमा समस्या देखिएको भन्दै सो विधेयकलाई छिट्टै पारित गरिदिन संघीय संसदका सांसदहरूलाई आग्रह गरेका थिए।

सरकारले मुलुकी संहितामा देखिएका त्रुटि सच्याउने उद्देश्यका साथ सो विधेयक संशोधनका लागि संघीय संसदमा पेश गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.