|

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघ स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई प्रदान गर्ने भएको छ। पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ।

त्यस्तै, शाखाले यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नयाँ पत्रिकाका प्रदेश १ सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गर्ने भएको छ। पुरस्कारको राशि ११ हजार रुपैयाँको छ। दुवै पुरस्कार चैत १६ गते पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने छ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विसं. २०७३ सालमा स्थापना भएको हो। सूचनाको अधिकार क्षेत्रमा क्रियाशील अभियन्ता, विराटनगर-११ निवासी केदारबहादुर बस्नेतले आफ्नी दिवगंत धर्मपत्नीको स्मृतिमा स्थापना गरेकी हुन्। उनले पुरस्कारका लागि नेपाल पत्रकार संघ मोरङ शाखाअन्तर्गत सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन्।

यो पुरस्कार देशको कुनै पनि भू–भाग वा जिम्मेवारी रहेर नागरिक र सूचनाको हक प्राप्तिका लागि जागरण अभियानको नेतृत्व गर्ने, सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने र नीति निर्माण तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको छ। शाखाले यसअघि विनय कसजू र तारानाथ दाहाललाई पुरस्कार प्रदान गरेको छ।

त्यस्तै गतवर्ष स्थापना गरिएको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार सूचना अभियन्ता राजु श्रेष्ठलाई प्रदान गरिएको थियो। प्रदेश १ मा रहेर सूचनाको अधिकार क्षेत्रमा काम गरिरहेका अभियन्ता वा पत्रकारलाई प्रदान गर्नेगरी यो पुरस्कार विसं.२०७४ देखि प्रदान गर्न थालिएको हो।

यस वर्षको पुरस्कृत प्रतिभाहरू छनोट गर्नका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखाले अध्यक्ष बन्धु पोखरेल–संयोजक, अग्रज पत्रकार यज्ञ शर्मा र सूचना अभियन्ता निर्मल तामाङ सदस्य रहेको समिति निर्माण गरेको थियो। सोही समितिको सिफारिशका आधारमा शाखाले पुरस्कृत व्यक्तिको नाम घोषणा गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.