'देश बिग्रे विदेशमा घरबार गर्ने अपराधीलाई देशको माया हुँदैन'

|

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण विडारीद्ये शिक्षामा वर्ग विभेद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा सांसद विडारीले अहिले मुलुकमा धनी र गरिबलाई अलग्याएर शिक्षा दिन थालिएको भन्दै आपत्ति जनाएका छन।

दोहोरो शिक्षा प्रणालीको मार नेपालले पुस्तौँदेखि भोग्दै आएको बताउँदै सांसद विडारीले अहिले पनि यस्तो अवस्थाको अन्त्य नभएको बताए। विगतमा 'नारी शिक्षा, मातृ शिक्षा' नारा लगाउँदा जेल जानुपरेको स्मरण गर्दै उनले त्यसपछि 'छोरा छोरी पढाउने- जिन्दावाद, नपढाउने- मूर्दावाद' भन्ने बेला आएका र गएका प्रसंग सुनाए। उनले प्रश्न गरे, 'अब फेरि 'गरिब र धनीका छोराछोरी छुट्याएर पढाउने- मूर्दावाद' भनेर नारा लगाउनुपर्ने बेला आएको हो?'

सांसद विडारीले गरिब र धनीका छोराछोरीलाई समान शिक्षा दिनुपर्ने कुरा राज्यको नीतिमा पर्नुपर्ने बताए। पछिल्लो समय मध्यम वर्गका विद्यार्थी मेडिकल शिक्षा पढ्न जाँदा बढी शूल्क लिइएको र त्यसैका आधारमा ५१ दिनसम्म कलेज बन्द गरिएको विषय पनि उनले संसदमा उठाएका थिए। उनले त्यसो गर्नु कानुनअनुसार ठगी भएकाले त्यस्तो गर्नेहरूलाई कारबाहीको माग पनि गरे। 'ठगी काम गर्नेहरूलाई, मध्यम वर्गीय छोराछोरीलाई पढ्नमा बाधा गर्नेहरूलाई मुलुकी फैजदारी संहिताअनुसार कारबाही गर्नुपर्दैन?' उनको माग थियो। उनले मेडिकल कलेज संचालकहरूले ठगी गरेको शूल्क फिर्ता गरेरमात्रै नभइ कारबाही पनि गर्नुपर्ने बताए।

त्यस्तै, द्वन्द्व पीडित बेपत्ता, घाइते, अपांग र सहिद परिवारको व्यवस्थपनको जिम्मा सरकारले लिनुपर्ने सांसद विडारीको धारणा थियो।

उनले सार्वजनिक सरकार मातहत ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै थप व्यक्तिका नाममा रहेको सार्वजनिक जग्गा सरकारको मातहत ल्याउनुपर्ने माग गरे। सरकारले हालै बालुवाटारमा रहेको ३०० रोपनी सार्वजनिक जग्गा सरकारमातहत ल्याएको थियो। उनले सरकारी जग्गा व्यक्तिको नाममा गर्नेहरूलाई कारबाही गर्नुपर्ने पनि बताए।

सुकुम्बासीका समस्या समाधान गर्न सरकारको ध्यान जानुपर्ने पनि सांसद विडारीको माग थियो। उनले पटकपटक सरकार बनेका, आयोग र कानुन बन्दा पनि सुकुम्बासीका समस्या समाधान नभएकोप्रति आक्रोश व्यक्त गरे। उनले सरकारले अब दीर्घकारलिन समाधान खोज्नुपर्ने माग गरे।

अन्त्यमा उनले भने, 'यो देश सप्रे यै देशमा, यो देश बिग्रे विदेशमा। दोहोरो घरबार भएका अपराधीहरूलाई यो देशको माया हुँदैन। त्यसैले नेपालमा बस्ने नेपाली यो आवाज उठाउँछन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.