|

कञ्चनपुर : भारतीय सीमा शुरक्षा बल(एसएसबी)को अवरोधका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवमा सडक कालोपत्रे गर्ने कार्य रोकिएको छ। विवादित क्षेत्र भन्दै भारतीय एसएसबीले सडक कालोपत्रे गर्ने कार्य रोकेको हो।

विवादास्पद टनकपुर बाँध नजिकै ब्रम्हदेव बजार जोडनका लागि नगरपालिकाले ४३ लाख रुपैयाँमा १.३८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनलाई ठेक्का दिएको थियो। ठेकेदारले शुक्रबार सडक कालोपत्रे गर्नका लागि साधनसहित कार्यस्थलमा पुगेपछि भारतीय एसएसबीले अवरोध गरेको स्थानीय बासिन्दाले बताएका छन्।

भारतीय एसएसबीले सडक कालोपत्रे गर्ने कार्यको अवरोध गरेको ठाउँको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य, नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र शुरक्षा निकायका अधिकारीहरूले अवलोकन गरेका छन्। भारतीय पक्षले माथिल्लो निकायमा विवाद समाधान नहुँदासम्म सडक निर्माणको कार्य अगाडि बढाउन नदिने अडान राखेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वैद्यले सडकमा कालोपत्रे गर्ने कार्य अगाडि बढाउनका भारतीय पक्षसँग छलफल भइरहेको बताए। भारतीय पक्षले नौ महिनाअघि बाँध नजिकैको एक हजार दुई सय मिटर सडक कालोपत्रे गरिसकेको छ। 

नेपाली भूमिमा भारतले केही महिना अगाडि सडक निर्माणको कार्य अगाडि बढाएपछि नेपाली पक्षको विरोधका कारण काम रोकिएको थियो। सोही ठाउँमा अहिले नगरपालिकाले सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाएपछि भारतीय पक्षले अवरोध गरेको छ।

सडकमा कार्य अगाडि बढाउनका लागि पुगेका न्यू जोशी कस्ट्रक्सनका सञ्चालक भीमराज जोशीले भारतीय एसएसबीका जनावहरू आएर 'माथिको आदेश छ काम रोक्नोस्' भने त्यसपछि काम रोकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.