प्रश्नपत्र कसरी बन्यो? प्रधानाध्यापक नै बेखबर

|

सुर्खेत : भविष्यका मेरुदण्ड आधारभूत तहका बालबालिकाको सिकाईको मूल्यांकन गर्ने प्रक्रियामा चरम लापरवाही गरेको भेटिएको छ। शिक्षा क्षेत्र र बालबालिकाको भविष्यलाई स्थानीय सरकारले नै गम्भीर रूपमा नलिएको पाइएको हो।

नेपालको शिक्षा प्रणाली र उत्पादित जनशक्ति दक्ष नभएको भनेर चर्चा चलिरहँदा पनि केही व्यक्तिका कारण यस्तो भनाइलाई मलजल गरिरहेका देखिन्छ भने शिक्षण प्रणाली र मूल्यांकन प्रणालीलाई सुधार नगर्दा अझै पनि शिक्षामा गुणस्तर आउने सम्भावना देखिदैन्।

सुर्खेतको चिङ्गाड गाउँपालिकाले विद्यार्थीको भविष्यसँग जोडिएको आधारभूत तहको अन्तिम परीक्षामा लापरवाही गरेको देखिएको हो। गाउँ शिक्षा शाखाले बनाएको कक्षा ८ को नैतिक विषयको गाउँपालिका स्तरीय परीक्षामा गत सालको परीक्षामा सोधेको प्रश्नपत्र हुबहु नै यो वर्षको परीक्षामा पनि सोधिएको छ।  गाउँपालिकाले गत वर्ष परीक्षा समिति बनाई प्रश्नपत्र बनाएकोमा यो वर्ष स्रोत व्यक्ति जितेन्द्र राज वलीले आफैँ प्रश्नपत्र बनाएका थिए।

शिक्षण सिकाई र मूल्यांकनको विधिप्रति यसले प्रश्न चिह्न उठाएको छ। के गत वर्षको र यो वर्षको शिक्षण सिकाई एउटै प्रकृतिका थिए? वा गत वर्षको जस्तै यो वर्षका विद्यार्थी पनि हरेक हिसाबले समान अवस्थाका थिए? अनि सिकाइको स्तर पनि समान नै थियो त? बालबालिकाको मूल्यांकन विधि सधैँ एउटै हुन्छ? यो गम्भीर प्रश्न उठ्नु यहाँ स्वभाविक नै छ।

स्रोत व्यक्ति वलीले एसइईको अभिमुखिकरण भएको र आफू अन्तै व्यस्त भएकाले प्रश्नपत्रमा ध्यान दिन नसकेको उनले स्वीकार गरेका छन्। उनले प्रश्नपत्र छपाउन आफैँले दिएको पनि स्वीकार गरे।

‘हामीलाई विद्यालयमा फर्काउने हो की भन्ने कुरा पनि चलिरहेको र कता जानुपेर्ने हो भनेर अन्यौलता रहेको थियो,’ उनले भने ‘सोही कारण पनि परीक्षा समितिको बैठक बसाल्न सकिएन, मैले आफैँ गर्दा कतै त्यस्तो पर्न गएको हुन सक्छ।’ नैतिक शिक्षा विषयको २५ पूर्णांकको परीक्षाको प्रश्नपत्रमा अन्तिमको एउटा प्रश्नबाहेक सबै प्रश्नपत्रहरू जस्ताको तस्तै रहेका छन्। कपी र पेस्टबाहेक अरू मेहनत गरेको देखिदैन्।

गत वर्षको प्रश्न पत्रको अन्तिम प्रश्न ‘अतिले खति गर्छ भन्ने विचारमा तपाईं सहमत भई आफ्नो विचार प्रस्तुत गर्नुहोस।’ को ठाँउमा ‘पश्चाताप मानिसको रोग हो। यस भनाईलाई आफ्नो विचार सहित पुष्टी गर्नुहोस्’ भन्नेबाहेक कुनै पनि प्रश्न एक अक्षर तलमाथि भएको छैन्।

गाँपालिकाले परीक्षा सञ्चालन र अनुगमनका लागि एक लाख २५ हजार रकम छुट्टाएको थियो। स्रोत व्यक्ति वलीले अझै रकम अपुगसमेत रहेको बताए। करिब एक लाख ४० हजार रकम  खर्च भएको र बाँकी रकम गाँउपालिकाले दिने पनि उनले जानकारी दिए।

चिङ्गाड गाँउपालिकाका कार्यकारी प्रमुख टेक बहादुर खत्रीले जनशक्ति अभाव र स्रोत व्यक्तिको दरबन्दी कहाँ हुने हो भन्ने कुराको अन्यौलताले समस्या बनाएको बताउँछन्। ‘अन्यौलता कै बीचबाट परीक्षाको तयारी गर्नु परेकाले पनि केही समस्या आएको हुनुपर्छ,’ खत्रीले भने ‘आरपी सर जिल्लाले बोलाएको भन्द हिड्न लाग्नु भएको थियो, हामीले परीक्षा त सञ्चालन गरिदिनु पर्‍यो सर भनेर रोकेका थियौँ। सायद त्यही भएर त्यसो भयो होला।’

गाँउपालिका २ मा रहेको जनता मावि रानीवासका प्रधानाध्यापक विनोद यादवले आफूहरूमाथि अहिले पनि आतंकी राज शिक्षक महासंघले थोपरेको गुनासो गरे। ‘वर्ष भरी कसरी पढाई भएको छ, विद्यालयको अवस्था कस्तो छ कोही बुझ्न आउँदैनन्,’ उनले भने ‘तर परीक्षाका बेला मात्र आतंकित बनाएने काम गरेका छन्।’

कुनै पनि वर्ष प्रश्नपत्र बनाउन सहभागी नगराइएको यादवको गुनासो छ। 'हामीलाई आरपीले २/३ दिन अगाडि प्रश्न पत्रको नमुना पठाउने भन्नुभएको थियो, एक दुई विषयको प्रश्नपत्र गयो हाम्रो स्कुलबाट', यादवले भने, 'अरू प्रश्न पत्र कसले कसरी बनायो, हामीलाई केही पनि थाहा छैन्।'

उनले थपे ‘शिक्षण सिकाई फरक वर्षमा एउटै हुनै सक्दैन, परीक्षा कसले लिएको हो, परीक्षा समिति छ की छैन? त्यो पनि हामीलाई केही थाहा छैन्।’ कसरी र कुन प्रक्रियामा परीक्षा सञ्चालन गरेको हो आफूलाई जानकारी नभएको उनको भनाई छ।

भैरव मावि अवलचिङ्गकी प्रधानाध्यापक विमला रेग्मीले पनि प्रश्न पत्र कसले र कसरी बनाएको भन्ने आफूलाई केही थाहा नभएको बताइन्। उनले भनिन्, ‘फोहोर साल त हामीले सबै विद्यालयबाट प्रश्नपत्र बनाउन शिक्षकहरू पठाएका थियौँ तर यो पटक प्रश्नपत्र कसले बनायो भन्ने कुरा मलाई थाहा भएन्।’

भैरव मावि अवलचिङ्गका व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र राज रानाले यो घटनाले विद्यार्थीको भविष्यमाथि र शैक्षिक मूल्यांकनमाथिको खेलवाड भएको बताए। ‘एकाध प्रश्नपत्र दोहरिनु सामान्य मान्न सकिन्थ्यो,’ रानाले भने ‘सबै प्रश्नपत्र नै  हुबहु आउनु भनेको विद्यार्थीको भविष्य र शैक्षिक मूल्यांकन प्रतिको खेलवाड हो।’

‘कि ३/४ वर्षको अन्तराल भए एउटा कुरा हुन्थ्यो, तर यो गत वर्षकै लगातार दोहरियो, यो गैरजिम्मेवारपन र विद्यार्थीको भविष्य माथिको सरासर खेलवाड हो, सम्बन्धित पक्षलाई आवश्यक कारवाही गर्नु पर्दछ’ रानाले थपे  ‘कुरा बुझ्दा बजेटको पनि अभाव देखिएन, जनशक्तिको पनि अभाव देखिएन। यो त बजेट पचाउने अनि कपी पेस्ट गर्नेबाहेक केही देखिएन्।’

जिल्ला शिक्षा इकाइ सुर्खेतका प्रमुख भोजप्रसाद लम्साले उही हुबहु प्रश्नपत्र हुनु राम्रो नभएको र त्यो हुन नहुने बताए। ‘अहिले आधारभूत तहको शिक्षाको जिम्मा सबै स्थानीय तहलाई छ,’ उनले भने ‘प्रश्नपत्र बनाउने, परीक्षा लिने सबै उसैलाई छ, केही समस्या भए हामीले सल्लाह सुझाव दिने मात्र हो।’

परीक्षा अघिल्लो वर्षको हुबहु भएमा त्यसलाई पुनः परीक्षा लिन पनि सकिने उनको भनाई छ। हुबहु भएमा के कारवाही गर्ने की परीक्षा पुनः सञ्चालन गर्ने त्यो विषयमा स्थानीय सरकारको नै हात रहेको लम्सालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.