|

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वर्तमान जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले मेलौलीमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लेखकले वर्तमान सरकारले जनतालाई निराश बनाएको बताए। 'दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन', उनले भने, 'वर्तमान सरकारले संघीयता विरोधी काम गरिरहेको छ।'

स्थानीय र प्रदेश सरकारलाई मजबुत बनाउनुको सट्टा विभिन्न वहानामा सरकारले तल्ला सरकारहरूलाई कमजोर बनाउन खोजेको लेखकको आरोप छ। वर्तमान सरकारले तनाशाह व्यवहार प्रस्तुत गर्न खोजेको उनको भनाइ छ। 'सेना परिचालन गर्ने सुरक्षा परिषदको अधिकार आफू मातहत ल्याउनु प्रधानमन्त्रीको तानाशाही व्यवहार हो' उनले भने, 'सरकार नै संविधान विरोधी गतिविधिमा लागेको छ।'

नेपाली जनताको संविधानसभा मार्फत संविधान बनाउने आसालाई नेपाली कांग्रेसले पूरा गरेको बताउँदै लेखकले कांग्रेसलाई सशक्त बनाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए। नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक प्रमुख अतिथी रहेका थिए।

सो कार्यक्रममा पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्व सभापति शिवराज भट्ट, पूर्व सहायक मन्त्री केशवबहादुर चन्द, महासमिति सदस्य चतुरबहादुर चन्द, विष्णुदत्त जोशी, कर्ण साउँद, जिल्ला सचिव वीरबहादुर विष्ट, जिल्ला सचिव प्रेमबहादुर चन्द, जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। नेपाली कांग्रेसले संगठन विस्तार अभियानअन्तर्गत गाउँगाउँमा कार्यकर्ता भेटघाट र अन्तरक्रिया थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.