लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

|
Photo: RSS

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन।

उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषदको शुक्रबार बसेको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन।

प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीहरूलाई व्यवस्थित बास,सुरक्षा र अन्य प्रबन्ध मिलाउनेदेखि सम्मेलनका एजेन्डा तय गर्ने तयारीमा तीव्रताका साथ जुट्न निर्देशन दिएका हुन।

परिषदका तर्फबाट सुरज वैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए।

नेपाल सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गर्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले बैठकमा प्रधानमन्त्री ओलीले केही तत्वहरूले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताएका थिए।

प्रधानमन्त्रीले भनेका थिए, ‘गणतन्त्र आएको छ ,संघीयता आएको छ,आवधिक चुनाव भएको छ अब के चाहिएको हो? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने? त्यस्तो हुँदैन। सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ।‘ 

प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लक्षित हो। सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सरकारको आलोचना भइरहेको छ। राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै सत्ताधारी र प्रतिपक्षी दलका कतिपय ठूला नेताहरूले नै सरकारको आलोचना गरिरहेका छन। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मुलुकका विभिन्न ठाउँमा सरकारी संरचना, टेलिफोन सेवा प्रदायक कम्पनीका संरचनामा आगजनी र बम विस्फोट तीव्र पारेपछि सरकारले उक्त पार्टीलाई प्रतिबन्धित घोषणा गरेको थियो। उक्त प्रतिबन्ध सही भएको र त्यस्ता गतिविधि गर्नेहरूप्रति सरकार अझै कडा भएर जाने प्रधानमन्त्रीले बताउँदै आएका छन। शान्तिपूर्ण राजनीतिमा आउन चाहे त्यो बाटो पनि खुला रहेको प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीका धारणा आइरहेका छन।

बैठकमा अबका दिनमा विगतका अनुभवका आधारमा सम्मेलनलाई प्रतिबद्धताका रूपमा मात्र सीमित नरही व्यवहारमै रुपान्तरण गर्न के–कस्ता कार्यक्रम बनाउन आवश्यक रहन्छ भन्नेबारेमा विस्तृत छलफल भएको सचिव ढुङ्गानाले जानकारी दिए। सार्वजनिक निजी साझेदारीको स्वरुप अर्थात् सार्वजनिक र निजी क्षेत्रबीचमा अन्तरक्रिया गर्दै मुलुकको आर्थिक विकासका क्षेत्रको पहिचान र सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले परिषद्को गठन भएको थियो।

परिषदको मंसिरमा बसेको पहिलो बैठकको निर्णयअनुरुप परिषद गठन आदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको तथा सात विषयगत क्षेत्रले नीति पृष्ठपोषण दिनका लागि समिति गठन गर्ने गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव पनि सो अवसरमा दिइएको थियो। सचिव ढुङ्गानाले भने, ‘आगामी लगानी सम्मेलनमा निजी क्षेत्रको सहभागितालाई कसरी प्रवद्र्धन गर्ने र सम्मेलनलाई कसरी सफल तुल्याउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।‘

मुलुकको आर्थिक विकासका क्षेत्र के के हुन्, अरू के हुन सक्दछन् यसमा सहभागिता कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने पाटोबाट विस्तृत छलफल भएको उक्त बैठकमा विषय विज्ञको सुझावलाई सम्बोधन गर्न नीतिगत आधार बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ। मुलुकको पूर्वाधार, उद्योग, उच्चस्तरको कृषि उत्पादन, पर्यटन तथा ऊर्जा क्षेत्रको विकासका लागि परिषद्ले विषयगत क्षेत्र निर्धारण गरेको छ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले मुलुकको आर्थिक विकास र समृद्धिका लागि आगामी सम्मेलनबाट कसरी फाइदा लिन सकिन्छ भन्नेबारे विभिन्न कोणबाट छलफल भएको जानकारी दिए। उनले भने, ‘लगानीकर्तालाई यहाँको लगानी वातावरणका सम्बन्धमा कसरी बुझाएर आकर्षण गर्न सकिन्छ भन्नेबारे समीक्षा भएको बैठकमा प्रधानमन्त्रीज्यूबाट सम्मेलनलाई सफल तुल्याउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो।‘

मुलुकमा उत्पादन बढाउन, उद्योग, व्यपार र वाणिज्य प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको परिषद विकास र समृद्धिका लागि खम्बाका रूपमा रहने विश्वास गरिएको छ । प्रधानमन्त्री मातहत रहेको उक्त परिषदले अन्तर्राष्ट्रिय व्यपार, उद्योग विकास र लगानी साथै कृषि उत्पादनमा जोड र उपभोक्ताको अधिकारको संरक्षण गर्नेजस्ता विषयमा नीति तर्जुमा, योजना र कार्यक्रम बनाउने र अनुगमन गर्ने कार्य गर्दै आएको छ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा पुष्पराज कँडेल, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीलगायत निजी क्षेत्रका अरू प्रतिष्ठानका प्रतिनिधिसहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.