|

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन'सहित आठ जना पक्राउ परेका छन्।  

वलीसहित आठै जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। स्थायीसमिति सदस्यसमेत रहेका वली मध्य कमाण्ड इञ्चार्ज हुन। अन्य नेता कुन तहका हुन भन्ने खुलिसकेको छैन। 

वलीसँगै पक्राउ पर्नेमा शंकर अधिकारी, रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का, देव घिमिरे, धर्मराज राजवाहक, ललित तामाङ र सञ्जीव कार्की रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले विप्लव समूहको उच्च तहमा रहेका वलीलाई पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उच्च तहका नेताहरूलाई पनि पक्राउ गर्न थालेको हो। 

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाप्रति आक्रामक अभिव्यक्ति दिन थालेका थिए। प्रधानमन्त्रीले विप्लवलाई राजनीतिक मूलधारमा शान्तिपूर्ण रूपमा आउन सधै तयार रहेको तर हिंसात्मक गतिविधि गर्न नदिने बताउँदै आएका थिए। शुक्रबारमात्रै रुपन्देहीमा र काठमाडौंमा प्रधानमन्त्रीले विप्लवका गतिविधिलाई सुरक्षाकर्मी लगाएरै निस्तेज पार्ने खालका भनाइ राखेका थिए। गृहन्त्री थापाले पनि सुरक्षा निकायका प्रदेश अधिकारीहरूलाई ब्रिफिङ गरेर विप्लवका चुनौती सामना गर्न र सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेका छन। 

केही दिन पहिले पनि काभ्रेमा प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको थियो। जसमा विप्लवको तर्फबाट वली संलग्न रहेको र उनी भाग्न सफल भएको बताइएको थियो। प्रहरीले पक्राउ गर्न जाँदा प्रहरीलाई नै लक्षित गरेर उनीहरूले फायरिङ खोलेका र प्रहरीले पनि जवाफ दिएको थियो। त्यसपछि प्रहरीले लगातार वलीसहितका नेताहरूलाई खोज्न थालेको थियो।  

विप्लवलाई प्रतिबन्ध लगाएपछि कालिकोट लगायत कर्णाली प्रदेशका जिल्लाहरूमा सेनासमेत परिचालन भएको थियो। विप्लवको प्रभाव क्षेत्र मानिएका कर्णालीका जिल्लाहरूमा सेनाले गस्ती गरेका समाचार सार्वजनिक भएका थिए। 

विप्लव नेतृत्को नेकपाले मुलुकका विभिन्न भागमा गरेका बम विस्फो र आगजनीबाट ठूलो क्षति र एकजनाको मृत्युसमेत भएपछि सरकारले प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लव समूहका ठूला नेतालाई नै लक्षित गरेर सुरक्षा अभियान चलाएको सरकारले वलीसहितका नेताहरूलाई पक्राउ गरेको हो। 

पढ्नुहोस्ः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.