|

उदयपुर : वन कार्यालयकै अनुमतिमा उदयपुरमा सालका हरियो रुख कटान गरिएको छ। डिभिजन वन कार्यालय, गाईघाटले कटान अनुमति दिएपछि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई हरियो रुख कटान गरिएको हो।

डिभिजन वन कार्यालयले आर्थिक चलखेल गरी चुरे क्षेत्रमा पर्ने सामुदायिक वनका सालको हरियो रुख कटान आदेश दिएको सरोकारवालको दाबी छ। त्रियुगा नगरपालिका–७ मा रहेको ककनी समुदायिक वन उपभोक्ता समूहले सालको हरियो रुख काटेको छ। ‘सुख्खा खडा, ढलापडा’ भन्दै सुकेको र ढलेको रुख नभएको भन्दै हरिया रुख काट्न आदेश दिएको वन उपभोक्ता समूहको भनाइ छ। 

ककनी समुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश मगरले ‘सुख्खा खडा ढलापडा’ रुख नभएकाले आन्तरिक प्रयोजनका लागि हरियो रुख काट्न आदेश पाएको दाबी गरे। ‘सुख्खा खडा, ढलापडा सकिए छ, वृद्धि विकास रोकिएको हरियो रुख काटिएको हो,’ उनले भने, ‘डिभिजन वन कार्यालयको अनुमति लिएर समूहले २२ वटा हरियो रुख काटेको हो, धेरै काटेको छैन।’

आर्थिक चलखेल गरेर डिभिजन वन कार्यालय गाईघाटले हरियो रुख काट्ने अनुमति दिएको सोही वन उपभोक्ता समितिका सदस्यहरुको आरोप छ। सुरुमा आन्तरिक प्रयोजनका लागि भन्दै रुख काट्ने र त्यसपछि समूहमा खपत नभएको भन्दै बाहिर बिक्री गर्ने गरेको स्थानीयहरु बताउँछन्। ‘सुरुमा आन्तरिक प्रयोजनका नाममा रुख काटिन्छ,’ त्रियुगा नगरपालिकाका मीनबहादुर पोखरेलले भने, ‘तर उपभोक्तालाई दिने समयमा विभिन्न वहाना झिक्ने, संकलन लागत बढी भएको देखाउने र उपभोक्तालाई नदिने जस्ता कार्य हुन्छ, त्यही योजनाअनुसार हरियो रुख काटिएको हो।’

पहिले काटिएका रुख समूहले प्रयोग गर्नेभन्दा बिक्री गरेको अवस्थामा पुनः आन्तरिक प्रयोजनका लागि भन्दै हरियो रुख काटिएको स्थानीय नेत्रबहादुर मगरले बताए। ‘पहिले काटेको काठ त घरमा प्रयोग भएन,’ उनले भने, ‘अब ल्याएको काठ स्थानीय बजारमा बिक्री गर्ने तयारी थालेको छ। सुकेको देखाएर हरियो रुख काटिएका छन्।’

आन्तरिक प्रयोजनका लागि अहिले करिब ६० सामुदायिक वन उपभोक्ता समूहलाई रुख काट्ने अनुमति दिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए। ‘समूहको प्रतिवेदनका आधारमा उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै हरियो भए पनि काम नलाग्ने रुख समेत कटान आदेश दिइएको छ,’ उनले भने, ‘विशुद्ध आन्तरिक खपतका लागि दिएको हो। यसको दुरुपयोग हुन नदिन वन कार्यालयले नियमित अनुगमन गरिरहेको छ।’

उनले दुरुपयोग भएको भेटिए समूहका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी समेत दिए। डिभिजन प्रमुख विष्णुप्रसाद आचार्यसहितका वन कार्मचारीको सहमतिमा हरियो रुख काटिएको वन कर्मचारीकै दावी छ। संस्थागत रुपमै हरियो रुख काट्ने अनुमति दिँदा सदुपयोग भन्दा दुरुपयोग बढी हुने सरोकारवालाहरुको चिन्ता छ।

तर, डिभिजन प्रमुख आचार्य उक्त आरोप मिथ्या भएको दाबी गर्छन्। उनले ढलापडा, सुख्खा खडा र वृद्धि विकास रोकिएका हरियो रुख मात्र काट्न आदेश दिएको बताए। ‘हामीले कडा अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘समुदायभन्दा बाहिर बेच्नै दिँदैनौं। आदेशअनुसारको मात्र काट्न दिन्छौं।’ 

सामुदायिक वनमा संस्थागत रुपमा हरियो रुख काटिएको यो नै पहिलो हो। यसअघि जिल्ला वन कार्यालयले आन्तरिक प्रयोजनका लागि समेत हरियो रुख काट्न आदेश दिएको थिएन। तर, डिभिजन वन कार्यालयको गठनसँगै वन अधिकृत भएर आचार्य आएपछि समूहलाई हरियो रुख काटने अनुमति दिएको बताइएको छ। सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक प्रयोजनका लागि भन्दै यसअघि काटिएका काठको समेत दुरुपयोग हुँदै आएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.