|

चितवन : चितवनको स्थानीय तहमध्ये एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले खानेपानी समस्या समाधानका लागि विभिन्न आधा दर्जन आयोजना सञ्चालन गरेको छ। तीमध्ये केही सञ्चालनमा आइसकेका छन्। केही निर्माणाधीन छन् भने कुनैको विस्तृत परियोजना प्रतिवदेन (डिपिआर)को काम भइरहेको छ।

विशेषगरी पानीको मुहान तल र वस्ती माथि भएका क्षेत्रमा लिफ्टिङ सिस्टममार्फत खानेपानी तानेर घरघरमा पुर्‍याउने आयोजना सञ्चालन गरिएको छ। खानेपानीको चरम समस्या रहेको क्षेत्रको पहिचान गरी क्रमैसँग गाउँपालिकावासीलाई खानेपानीको पहँुचमा पुर्‍याउने गरी आयोजना सुरु गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।

पहिलो चरणमा १८ लाख ६७ हजार ५५० रुपैयाँ लागतमा इच्छाकामना ४ लेवाटरमा खानेपानी आयोजनाबाट लिफ्टिङ सिस्टममार्फत पानी तानेर वितरण गरिएको छ। यसमा गाउँपालिकाको पाँच लाख, जनसहभागिताबाट सात लाख ६७ हजार ५५० र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको छ लाख बजेट छ। आयोजनाबाट १५० घरधुरीमा पानीको धारा पुर्‍याइएको छ। करिब ७०० मिटर तल त्रिशूली नदी किनारमा रहेको मुहानबाट लिफ्टिङ सिस्टममार्फत पानी तानेर स्थानीयलाई खानेपानी वितरण गरिएको छ।

आयोजनाबाट स्थानीय र टाढाबाट आएर व्यापार व्यवसाय गर्ने तथा भाडामा बस्ने गरी करिब दुई हजार ५०० जना लाभान्वित भएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन्। ‘खानेपानीका लागि घण्टौंसम्म धारामा, कुवामा समय बिताउनुपर्ने स्थानीयको समस्या थाहा हुनासाथ सुरुमा मुहानको संरक्षण गर्‍यौ,ं’ अध्यक्ष गुरुङले भने, ‘मुहानमा १० हजार लिटरको ट्यांकी निर्माण गरी दुई इञ्चको पाइपबाट पानी माथि तानिएको छ।’

पानी तान्ने ऊर्जा व्यवस्थापनका लागि मुहानभन्दा २०० मिटरमाथि ३४ वटा सोलार प्यानल जडान गरिएको छ। दिउँसो सोलार ऊर्जा  र अन्य समयमा बिजुलीको प्रयोग गरी बस्तीभन्दा माथि रहेको ठूलो रिजर्भ ट्यांकीमा पानी तानिन्छ। जसका लागि अटोमेटिक मेसिन जडान गरिएको छ। घरघरमै पुर्‍याएपछि स्थानीय हर्षित छन्।

गाउँपालिकाको अन्य खानेपानी समस्या रहेको क्षेत्रमा पनि धमाधम काम भइरहेको छ। वडा नम्बर १ ज्यानदालामा लिफ्टिङ सिस्टम सञ्चालनका लागि गाउँपालिकाले २० लाख बजेट छुट्याएको छ। वडा नम्बर ६ को ढुंग्रेमा खानेपानी आयोजनाको डिपिआर निर्माणका लागि १० लाख बजेट विनियोजन गरेको अध्यक्ष गुरुङले जानकारी दिइन्। 

यस्तै, वडा नम्बर ३ को इच्छाकामना मन्दिर क्षेत्रमा २०७६ जेठ महिनाभित्र सञ्चालनमा आउने गरी खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ। ‘गत वर्ष छुट्याएको १५ लाख रुपैयाँ बजेटमा काम भइरहेको छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भनिन्, ‘अब २५ लाख रुपैयाँ थपेर आयोजना सम्पन्न गर्नेछौँ।’ 

गत वर्ष वडा नम्बर ५ को पामडाँडाका २५० घरधुरीमा एक घर एक धारा पुर्‍याएको अध्यक्ष गुरुङले जानकारी दिइन्। पछिल्लो जनगणनाअनुसार इच्छाकामना गाउँपालिकामा २५ हजार १२ जनसंख्या रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.