|

पोखरा : केहि समय पहिले गोरखाको मनास्लु पदमार्गको निषेधित क्षेत्रमा एक विदेशी अनुमति बिनै प्रवेश गरे। उच्च हिमाली क्षेत्रमा पुगेपछि एकाएक बिरामी भएका उनलाई हेलिकोप्टरमा राखेर उपचारको लागि काठमाडौं पुर्‍याइयो। बिरामी भएर गम्भीर अवस्थामा रहेको थाहा पाएपछि नेपालको अध्यागमन विभागकै सहयोगमा उनलाई काठमाडौं लगिएको थियो। उनै विदेशी अहिले अध्यागमनका लागि टाउको दुखाइ बनेका छन।

ती विदेशीसँग उपचारको लागि न पैसा छ, न निषेधित क्षेत्रमा प्रवेश गरेवापतको जरिवाना तिर्ने पैसा छ। उनलाई अहिले सेन्ट्रल जेलमा राखेर अध्यागमनले नै उपचार गरिरहेको छ।

पोखराको पर्यटन प्रहरीले विशेष सूचनाको आधारमा नेदरल्याण्डका नागरिकलाई केहि समय पहिले पक्राउ गर्‍यो। ती विदेशीले नेपाली नाम राखेर पोखरामै अवैध धन्दा चलाइरहेको प्रहरीले थाहा पाएपछि पक्राउ गरेको थियो। १० वर्ष देखि पोखरा लेकसाइडको एक होटलमा ट्वाइलेट क्लिनरको रूपमा कार्यरत प्रेम ओजस् खास धन्दा प्रहरीले पत्ता लगाएको  छ। होटलमा रहँदा उनले दिनको एक सय रुपैयाँ मात्र लिने गरी काम थालेका थिए। एकाएक उक्त होटल बिक्री भएपछि नयाँ साहुले उनलाई दिनको ५० रुपैयाँमात्र दिने निधो गरे। त्यसमा पनि प्रेम ओजस् राजी भए। तर, नयाँ साहुले उनको कर्तुतबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई प्रहरीले अध्यागमनमा बुझायो। उनलाई पनि अध्यामनले सेन्ट्रल जेलमै राखेको छ।

अध्यागमनका अनुसार अहिले पनि अवैध धन्दा चलाउँदै आएका १४ जना विदेशी सेन्ट्रल जेलमा छन। यसरी नेपाल आउने विदेशीले यहाँका सूचना गुप्तचरीका किसिमले सम्बन्धित देश लैजाने गरेको र त्यसले नेपाली राष्ट्रियतामा थि खतरा भएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेल बताउँछन।

भिसा एक काम अनेक

अहिले नेपाल आउनको लागि ७९ देशबाट भिसा पाउने व्यवस्था भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। नेपाल आउने अधिकांश विदेशी नेपालको हिमाली भागमा जाने र त्यतै हराउने मुख्य समस्या रहेको उनको भनाई छ। अहिले वर्षौं अघि नेपाल आएर नेपालको गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, ताप्लेजुङ,  दोलखा, पोखरा, मुगु, सोलुखुम्बु, संखुवासभा क्षेत्रमा अबैध रुपले विदेशी बस्दै आएको अध्यागमनकै अध्ययनले देखाएको छ।

‘घुम्न भनेर नेपाल आएकाहरू धेरै अवैध धन्दामा लागेको पाइएको छ,’ महानिर्देशक पौडेलले भने, ‘उनीहरूले यहाँ लागुऔषध ओसारपोसार, तस्करी र धर्मको प्रचार बढी गरेको हाम्रो जानकारीमा छ। अरु जानकारीमा नआएको धन्दा त कति होलान् होलान्।’

अध्यागमन नै भन्छ हाम्रो अनुगमनको संयन्त्र कमजोर

महानिर्देशक पौडेलले नेपाल प्रवेश गरेका विदेशी कहाँ गए, के गरे भन्ने अनुगमन गर्ने संयन्त्र नै कमजोर रहेको स्वीकार्छन। ‘विदेश जाँदा हामीले होटलमा हाम्रो ओरिजीनल पासपोर्ट नै देखाउनुपर्छ र होटल वालाले त्यो स्क्यान गर्छ,’ उनी भन्छन्, ‘त्यो होटलवालाले आफ्नो लागि त्यसो गरेको हैन देशको अध्यागमनको लागि हो। हामी त्यति गर्न सक्ने अवस्थामा छैनौँ। नेपालकै धेरै पर्यटक आउने पोखराका होटलमा त त्यसो गर्न सकेका छैनौँ।’ अध्यागमनको अध्ययनले पनि पोखरामा सबै भन्दा धेरै अवैध धन्दा चलाएर विदेशीहरू बस्ने गरेको पत्ता लगाएको छ। उनले विदेशीहरूलाई पूर्णरूपमा नियमन गर्ने जिम्मा गृह मन्त्रालयको भएकोले अध्यागमनलाई सहयोग गर्न गृह प्रशासनलाई आग्रह पनि गरे।

शिविर सहयोगको नाममा बाइबल बाँड्दै

विभागका निर्देशक रामचन्द्र तिवारीले शिविर र सहयोगको नाममा अवैध तरिकाले धर्मप्रचार गर्न समाजका जिम्वेवार नागरिकहरूले नै हौसला प्रदान गरेको बताए। ‘केहि समय अघि म मुस्ताङमा प्रमुख जिल्ला अधिकारी भएर बसेँ,’ उनले भने, ‘म त्यहाँ बस्दा एक वर्षको अवधिमा ५० वटा भन्दा धेरै स्वास्थ्य शिविर आयोजना भए। मेरो घर पर्वत मैले आज सम्म कुनै विदेशीले स्वास्थ्य शिविर गरेको पत्तो पाएको छैन।’ उनले विदेशीहरू मनाङ र मुस्ताङ जिल्लामा किन स्वास्थ्य शिविर र सहयोगको नाममा आए भनेर फरक नजरले हेर्न ढिलाइ भइसकेको पनि बताए। ‘त्यस्ता शिविर रौतहटमा किन हुँदैनन्, जबकी रौतहटमा नेपालकै सबै भन्दा धेरै बिरामी भएर ज्यान गुमाउने त्यहाँ छन। शिविरको नाममा नेपालको राष्ट्रियता खतरामा पारिरहेका छन।’ उनले शिविरमा विदेशी चिकित्सकसमेत आउने र उनीहरूले सिधै गाउँपालिकाबाट अनुमति लिने गरेको समेत बताए। विदेशी चिकित्सकले नेपालमा शिविर सञ्चालन गर्दा नेपालको स्वास्थ्य विभागबाटै अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। यो गाउँपालिकाको कार्यक्षेत्र भित्र पर्दैन।

टिकट मात्रै हैन भिसा पनि हेर्नुस

महानिर्देशक पौडेलले नेपालमा हवाइ उडानको टिकट लिनेबेला कम्पनीहरूले उनीहरूसँग भिसा भएनभएको चेकजाँच गर्न आग्रह गरे। ‘यो राष्ट्रियताको कुरा हो,’ उनले भने, ‘कहिँ जानलाई टिकट काट्न आउँदा भिसा छ भनेर सोध्नु पर्‍यो। यदि रहेनछ भने सरी फर द्याट भन्न सक्नु पर्‍यो।’ एयरलाइन्स कम्पनीले विदेशीलाई हवाई टिकट बिक्री गर्दा पासपोर्ट नहेर्दा पनि यो समस्या बढेको उनको आरोप छ। उनले अब पोखरा लगायत केही पर्यटकिय क्षेत्रका होटलमा भिसा स्क्यानर राखेर पर्यटकको अनुगमन गर्ने तयारीमा अध्यागमन लागेको समेत बताए। अध्यामन र पर्यटन बोर्डले पोखरामा अध्यागमन, प्रशासन, पर्यटन र सरोकारवालाहरूको भूमिका विषयक छलफल कार्यक्रम नै राखेर गण्डकी प्रदेशका कास्की, मुस्ताङ, गोरखा, मनाङ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा प्रमुखहरूलाई सचेत रहन निर्देशनसमेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.