|

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र ताइवानका राष्ट्रपति साइइङ वेन बीच टेलिफोन वार्ता भएको छ। सन् १९७९ मा कुटनीतिक सम्बन्ध तोडिएपछि अमेरिकाका कुनै पनि बहालवाला वा भावी राष्ट्रपतिले ताइवानको नेतृत्व संग कुराकानी गरेको सार्वजनिक भएको यो पहिलो पल्ट भएको सिएनएनले जनाएको छ।

ट्रम्पले ट्वीट गर्दै ताइवानी राष्ट्रपति साइले आफूलाई बधाई दिन टेलिफोन गरेको बताएका छन्। उनको सचिवालयका अनुसार दुई नेता बीच दुई देशबीचको आर्थिक, राजनीतिक र सुरक्षा सम्बन्धका बारे छलफल भएको थियो। ताइवानलाई आफ्नो प्रान्त बताउँदै आएको चीन ट्रम्प र ताइवानी राष्ट्रपतिबीचको कुराकानीबाट क्रुद्ध बन्न सक्ने र ट्रम्पले सपथ लिनु अघि नै दुई देशबीचको सम्बन्ध खतरामा पर्न सक्ने सिएनएनले समाचारमा उल्लेख गरेको छ।

टेलिफोन वार्ता सार्वजनिक भए लगत्तै चिनियाँ सरकारी टेलिभिजन सिसिटीभीले वक्तव्य निकाली ट्रम्पले एक चीन नीतिप्रतिको अमेरिकी प्रतिबद्धता तोडेको भन्दै चीन वासिङ्गटन र ताइपेई बीचको कुनै पनि किसिमको आधिकारिक सम्पर्कको विरुद्धमा रहेको टिप्पणी गरेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्प र साई बीचको कुराकानीले चीन प्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ। अमेरिकाले एक चीन नीति प्रति समर्थन जनाउँदै सन् १९७९ मा ताईवान संगको औपचारिक कुटनीतिक सम्बन्ध तोडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.