|

रौतहट : चन्द्रपुर नगरपालिका १० बडहर्वा टोल निवासी अकलु माझी मुसहरलाई आइतबारदेखि हुने एसइई परीक्षाको तयारीमा भ्याए नभ्याइ छ। शनिबार दिउँसो टन्टलापुर घाममा प्रवेश पत्र लिन परीक्षा केन्द्र जनजागृति मावि सिन्धुरेघारी आएका अकलुलाई भोलि (आइतबार) को परीक्षाको तयारीको चटारो छ।

मधेसमा पनि पिछडिएको समुदायको रूपमा रहेको मुसहर जातका छोराछोरी अझै पनि विद्यालय नगइरहेको अवस्थामा अकलु माझी मुसहर विगत १० वर्षदेखि नियमित रुपमा विद्यालय गएर यस वर्ष एसइई परीक्षा दिने भएका हुन्। 'खाने मुखलाई जुगाले छेक्दैन' भने झै माझी उमेरको प्रवाह नगरी आफ्ना नातिनातिनासँगै आफ्नो औपचारिक शिक्षा लिन विद्यालय जान शुरु गरेका थिए।

दैनिक २ किलोमिटर लामो दूरी हिँडेर श्री माध्यमिक विधालय डुमरिया मटिऔनमा अध्ययन गरेका मुसहरले डिग्री पास गरेर मात्रै अध्ययन रोक्ने बताए। अकलुले भने, ‘अध्ययन समाजको अभिन्न अंग हो। समाजलाई सही बाटोमा लैजानको लागि अध्ययन अति जरुरी छ। त्यही भएर मैले अध्ययन शुरु गरेको हुँ’, उनले भने, 'मेरो अध्ययनको लक्ष्य भनेको मास्टर डिग्री (स्नाकोतर ) पास गर्ने हो। त्यो पनि अंग्रेजी विषयमा नै डिग्री पास गर्ने लक्ष्य छ।' 

'बिहान ३ घण्टा र बेलुका ४ घण्टा अनिवार्य किताब लिएर पढने गरेको छु' अकलुले थपे, ‘दिउँसो सामाजिक कामले नगरपालिका, प्रहरी कार्यालय, प्रशासन कार्यालय गएर गाउँका स्थानीयको काममा सहयोग गर्छु।'

सामाजिक कार्यमा अति नै चासो दिने अकलु आफूले पढेर समाजको लागि केही दिने प्रतीज्ञासमेत गरे। आफ्ना नातिनातिना सरहका केटाकेटी साथी भएका अकलुले अध्ययनमा साथीले नजिस्काएको तर उल्टै पढन सहयोग गरेको बताए। शिक्षक-शिक्षिकाको व्यवहारले  पनि मलाई अध्ययपन गर्न अझै सहज भएको र कक्षा कोठामा अध्यापन गर्न कुनै अप्ठयारो नभएको उनी प्रतिक्रिया दिए।

२०१७ सालमा जन्मेका अकलुले २०६५ सालमा  घरनजिकै रहेको श्री जनता प्रावि विधालयमा कक्षा १ मा भर्ना गरेर अध्ययन शुरु गरेका थिए। उनले २०७१ सालमा डुमरिया माविमा भर्ना गरी अध्ययनमा निरन्तरता दिएको बताए। अहिले अकलु माझी आफ्नै १५ वर्षीय नाति शिवकुमार माझीसँगै एसइई परीक्षा दिदैँछन्। दलित समुदायका माझीले ०४५ सालदेखि नै विधालयमा पढ्ने इच्छा राखेको भए पनि घरको आर्थिक अवस्था कमजोर भएको कारण अध्ययन गर्न नपाएको गुनासो गरे।

आफूले गाउँकै शिक्षक जोगिन्द्र चौधरीबाट अध्ययन गर्न अवसर मिलेको माझीको भनाइ छ। ११ सदस्यीय घरका अभिभावकसमेत रहेका अकलु माझी अध्ययनको सँगसँगै दैनिक ज्याला मजदुरी गर्दै घर व्यवहार चलाउँदै आएका छन्। माझी भन्छन्, ‘दैनिक ज्यालादारी गर्नु पर्ने बाध्यताले  पढ्नलाई निकै समस्या भएको छ।'

अकलुको पढाई राम्रो र पढ्न ध्यान दिने गरेको शिक्षिका अनुराधा चौधरीले बताइन्। अकलु माझी अहिले यस भेगको उदाहरणको पात्र बनेको शिक्षिका चौधरीको भनाइ रहेको छ। पढ्ने मानिसलाई उमेरले छेक्दैन भन्ने उदारहण बनेका अकलुको पढाई प्रतिको लगनशिलता देखेर गाउँका ६० वर्षीय अतेवरु माझी पनि विद्यालय आउन थालेका छन्।

अकलु पढाइको साथ साथै समाजिक काममा पनि उत्तिकै चासो दिने व्यक्तिमा पर्दछन्। विभिन्न संघ संस्थामा आवद्ध अकलुले आफ्ना गाउँको प्रहरी, प्रशासन, नापी, मालपोतलगायत सरकारी गैर सरकारी काम काजमा स्थानीयलाई सहयोग गर्दै आएको सो वाडकी सामाजिक परिचालिका जयमाला चौधरीले बताइन्। सामाजिक विकास तथा हक अधिकारका कुरामा अकलुले धेरै कुरा जानेका कारण पनि उनी समाज सेवामा उत्तिकै चासो दिने व्यक्तिमा पर्दछन्। यति मात्र नभएर उनी वैद्य समूह नेपाल क्रान्तिकारी माओवादीका प्रदेश २ का सदस्य पनि हुन्।

पार्टीको काममा पनि उत्तिकै समय दिने गरेको र खास गरी दलित, विपन्न तथा गरिब परिवारको लागि नै प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताए। यसैबीच चैत्र १० गतेदेखि संचालन हुने माध्यमिक परीक्षा उत्तीर्ण (एसइई) मा प्रदेश २ बाट ७० हजार ५१८ जना विद्यार्थी सहभागी हुँदैछन्।

रौतहटबाट ७ हजार ६८२ जना परीक्षार्थी सामेल हुँदैछन्। रौतहटमा ३० वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास समन्वय इकाइका प्रमुख जयप्रसाद महतले बताए। प्राविधिक धार तर्फको नियमितमा २०४ जना विद्यार्थी सहभागी हुनेछन्। नियमिततर्फ ७ हजार १३५ र नयाँ पाठ्यक्रम ग्रेड वृद्धि (एक्ज्याम्टेड) तर्फ  १५७ जना र पुराना ग्रेडवृद्धि तर्फ १८६ जना रहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.