|

हेटौँडा : नेपाल पुलिस क्लब सडनडेथमा विजयी हुँदै भूगर्भ सिमेन्ट दोस्रो शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को अन्तिम आठमा प्रवेश गरेको छ।

हेटौँडा १० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगिताको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा च्यासल युथ क्लबमाथि ६–५ गोलअन्तरको नतिजा निकाल्दै पुलिस प्रतियोगिता अघिल्लो चरणमा प्रवेश गरेको हो। पुलिसको जितमा गोलरक्षक रोशन खड्का भूमिका महत्वपूर्ण रह्यो। उनले च्यासलको दुईवटा प्रहार बचाएका थिए। उनलाई पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलको अन्तिम मिनेटमा टाइ ब्रेकरका लागि मैदान प्रवेश गराएका थिए।

टाइ ब्रेकरमा पुलिसको तर्फबाट तीर्थ रानामगर, हरि कठायत, भरत शाह र सन्तोष हेमरुनले गोल गरेका थिए। पुलिसको मानबहादुर परियारको प्रहार च्यासलका गोलरक्षक दिनेश थापामगरले रोकेका थिए। सडन डेथमा पुलिसका बुद्ध लामा र निरकुमार राई सफल हुँदा पुलिसको हेटौंडा बसाइँ लम्बिएको हो।

टाइ ब्रेकरमा च्यासल युथको तर्फबाबट विश्व अधिकारी, विक्रम लिम्बू चेतन थारू र अमिर श्रेष्ठले गोल गरेका थिए भने मिलन राईको प्रहार पुलिसका गोलरक्षकले राकेका थिए। सडन डेथमा च्यासलका नरेन्द्र चौधरीको प्रहार गोल हुँदा सञ्जोग राईले गोल गर्न चुके। हारसँगै च्यासलको हेटौँडा यात्रा पहिलो खेलबाटै टुंगियो।

खेलभर च्यासलको तुलनामा पुलिसका खेलाडीले बढी आक्रमण गरेका थिए। पुलिसका निरकुमार राईले खेलको ६५ औं मिनेटमा च्यासलका दुई डिफेन्डरलाई छक्याउँदै सिक्सयार्ड बक्सबाट गरेको प्रहार पोलमा लागेर फर्किएको थियो। खेलको ५५ औं मिनेटमा पुलिसका तीर्थ रानामगरले डीबक्स बाहिरबाट प्रहार गरेको बललाई च्यासलका गोलरक्षकले मुस्किलले बचाएका थिए।

खेलमा पुलिसका कप्तान दिनेश गुरुङ म्यान अफ दी म्याच घोषित भए। उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे। खेलपश्चात् प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेल पूर्ण समयमा नियन्त्रणमा लिएपनि फिनिसिङमा चुकेको बताए। उनले पुलिसका खेलाडीहरू पछिल्लो समयमा मोफासलको दौडामा फिनिसिङमा कमजोर देखिरहेको बताए। सिनियर र युथ–२३ राष्ट्रिय टोलीमा आफ्ना खेलाडीहरू रहेका कारण पनि पूर्ण टिम मैदानमा उतार्न नपाउँदा खेलमा समस्या भएको दावी गरे।

च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो खेलाडीप्रति असुन्तष्टि जनाए। नियमित प्रशिक्षणमा टोली नरहँदा समस्या भएको दावी गरे। शाक्यले आफ्नो नियमित खेलाडीहरू विभिन्न टोलीबाट मोफासलको प्रतियोगितामा सहभागी हुँदा समस्या भएको भन्दै राम्रो मैदान नहुँदा छोटो छोटो पास खेल्न समस्या भएको बताए।
प्रतियोगिताअन्तर्गत आइतबार विदेशी टोली दाफिन्स र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुनेछ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ। प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद आठलाख रुपैयाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा करिब ८५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.