|

काठमाडौं : अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे। केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे। 

धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो। त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन्। 

अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीनवटा मुद्दा छन्। पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताइन। 

बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा मीना उप्रेती बताउछिन।

नेपाल प्रहरी र विभिन्न सङ्घ संस्थाको तथ्याङ्क अनुसार आव २०५३-५४ देखि २०७२-७३ को २० वर्षमा नेपालमा बलात्कारका घटनामा दश गुणा वृद्धि भएको छ। 
आर्थिक वर्ष २०५३-५४ मा देशभरिमा ११२ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा बीस वर्षपछि २०७२-७३ मा एक हजार ८८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकाले पनि बढ्दै गएको देखिएको हो भन्ने खबर गाेरखापत्र दैनिकमा छ। यो बढोत्तरी नेपालको जनसङ्ख्या वृद्धिको तुलनामा बढिरहेको समाजशास्त्रीहरू बताउँछन्।

आर्थिक वर्ष २०७४-७५ को प्रहरी तथ्याङ्क अनुसार कुल दुई हजार ८७१ बलात्कारका घटना भएका थिए। जसमध्ये साथीभाइ र छिमेकीबाट सबैभन्दा धेरै ७३० बलात्कारमा परेका थिए।

त्यसबाहेक १४१ बलात्कार एकैघरका आफन्तबाट भएको प्रहरीले जनाएको छ। त्यस्तै, नातेदारबाट ४८ जना, अन्य चिनेजानेकोबाट ६९२ जना बलात्कृत भए। स्कुलमा पढाउने शिक्षक र मालिकबाट २६ जना बलात्कृत भए। जम्मा ४०४ जनामात्र नचिनेका व्यक्तिबाट बलात्कारमा परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्र करणीका एक हजार ४५३ मुद्दा दर्ता भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.