|
फाइल फोटो

बर्दिबास : महोत्तरी खयरमाराका रामकृष्ण थापाकी छोरी आइतबादेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछिन्। वर्षभरि स्कुलमा पढेको भरमा परीक्षामा राम्रो लेख्नेमा उनको छोरी ढुक्क हुन सकेकी छैनन्।

अन्नपूर्ण पोस्ट दैनिक अगाडि लेख्छ, थापालाई पनि छोरीले परीक्षामा राम्रो अंक ल्याउने विश्वास छैन। त्यसैले उनले छोरीका लागि आठै विषयका गाइड, गेसपेपर किनिदिएका छन्।

थापाले भने, ‘सामुदायिक विद्यालयमा पढाइ हुँदैन। शिक्षकहरू दलको झन्डा बोकेर हिँड्छन्। गाइड नपढाई परीक्षामा सहभागी गराउनै सकिन्न।’ यस्तै धनुषा मिथिला नगरपालिका—११ तुलसीका सरिता तामाङले छोराका लागि एक हजार दुई सय ७० रुपैयाँमा गेसपेपर र गाइड खरिद गरिदिइन्। थापा र तामाङ मात्र हैन, एसईई दिने धेरै विद्यार्थीले अभिभावकलाई गाइड र गेसपेपर किन्न लगाएका छन्।

यतिबेला बजारमा गेसपेपर र गाइडको माग उच्च छ। पुस्तक पसलेलाई बिक्री गर्न भ्याइनभ्याइ छ। अभिषेक पुस्तक पसल बर्दिबासकी कुसुम सेन ठकुरीले भनिन्, ‘मंसिरदेखि नै बजारमा गेसपेपर गाइड आउँछ। अधिकांशले परीक्षा नजिकै आएपछि मात्रै किन्छन्।’

विद्यालय व्यवस्थापन समितिको लापरबाहीले सामुदायिक विद्यालयको शैक्षिक वातावरण खस्किएको गौशाला रजखोरका पूर्वशिक्षक वासुदेव महतो बताउँछन्। ‘यहाँ राम्राभन्दा हाम्रा व्यक्तिलाई शिक्षक नियुक्त गरिन्छ,’ उनले भने, ‘योग्यले पढाउन पाउँदैनन्। अयोग्यले पढाउँदा विद्यार्थी फेल हुन्छन्।’ स्कुलमा राम्रो पढाइ नभएकाले विद्यार्थी गाइडको भर पर्नु बाध्य रहेको उनले बताए।

स्कुलमा राम्रोसँग पढाइ नहुने र विद्यार्थीमा पठन संस्कृति नभएकाले शैक्षिक स्तर खस्कँदै गएको बर्दिबासका शिक्षक हेमसागर वाग्ले बताउँछन्। उनले भने, ‘शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थीले परीक्षाको तयारी गर्न पाउँदैनन्। अनि अन्तिम समयमा गाइड र गेसपेपरकै भर पर्नुपर्छ।’

जनकपुर पिराडीचोकका अजय जसवाल शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थी मार परेको बताउँछन्। उनी भन्छन्, ‘सबै शिक्षकले राम्ररी पढाउँदैनन्। परीक्षामा राम्रो अंक ल्याउन गाइड नपढी हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.