|

भक्तपुर : सानोठिमीस्थित आदर्श माविको पूर्व विद्यार्थी समाजले विद्यावारिधि (पीएचडी) हासिल गरेका पूर्वविद्यार्थीलाई सम्मान गरेको छ। आदर्शबाट प्रवेशिका(एसएलसी) गरी विभिन्न विश्वविद्यालयबाट पीएचडी गरेका सातजनालाई आफ्नो स्थापना दिवसको अवसर पारेर समाजले शनिवार विद्यालय प्राङ्गणमा कार्यक्रम गरी सम्मान गरेको हो।

२०२८ सालदेखि २०५४ सालमा एसएलसी दिएका डा. दिनेश पराजुली, डा.बालकृष्ण रञ्जित, डा. अरविन्दप्रसाद रिमाल, डा. दिवाकर शाक्य, डा. रञ्जनकुमार दाहाल, डा. दिलीप पराजुली र डा. सुदीप ठकुरीलाई सम्मान गरिएको हो। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले उनीहरूलाई सम्मान गरे।

सम्मानपछि ‘सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पुरानै ढर्रामा चलिरहे शिक्षाक्षेत्रमा कहिल्यै सुधार नआउने धारणा राखे। ‘विद्यार्थीहरूलाई अब्बल बनाउने, गरेर खानसक्ने सीप सिकाउने, कुनै पनि कुरा गहन रूपमा खोज्नसक्ने प्रवृत्ति विकास गराउने र बजार बुझ्नसक्ने शिक्षा आवश्यक छ’, उनले भने। 

कार्यक्रममा रत्नराज्य विद्यालयकी प्राचार्य डा. गीता खरेलले एसएलसी (अहिलेको एसईई) को नतिजा आउनेवित्तिकै सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हौवा चलाइने गरेको भन्दै आपत्ति जनाइन्। ‘सामुदायिक विद्यालयको पढाइ सुधार्न एक व्यक्तिले मात्र सम्भव हुँदैन’, उनले भनिन्, ‘सरकार, प्रधानाध्यापक, शिक्षक, कर्मचारी विद्यार्थी र अभिावकको उत्तिकै जिम्मेवारी हुन्छ।’

विश्व निकेतन विद्यालयका प्राचार्य हेरम्ब कँडेलले  आफ्नो विद्यालयका शिक्षक कर्मचारीका छोराछोरी आफ्नै विद्यालयमै पढाउने नियम लगाएको बताए। 'छोराछोरी निजीमा पढाउने अनि सर्वसाधारणका छोराछोरी पढ्ने विद्यालयमा हेलचेक्र्याइँ गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको स्तर कहिल्यै माथि उठ्दैन',उनले भने।

ज्ञानोदय स्कुलका पूर्व प्राचार्य धनञ्जय शर्माले विद्यालयमा भएका स्रोत साधनबाटै विद्यार्थीलाई रमाउने वातावरण सिर्जना गर्नुपर्ने बताए। ‘विद्यार्थी विद्यालयमा कसरी रमाउँछन्, कसरी खुशी हुन्छन्, प्रधानाध्यापक र शिक्षकले त्यस्तो वातावरण बनाउनुपर्छ।’

विद्यालका प्राचार्य सूर्यबहादुर कार्कीले भौतिक संरचनासँगै शिक्षण सिकाइमा क्रमश: सुधार आइरहेको बताए। समाजका अध्यक्ष सुवासचन्द्र ढुंगेलले विद्यालयलाई आवश्यक पर्ने सहयोग गर्न इच्छुक रहेको बताए। कार्यक्रमका वक्ताहरूले पीएचडी गरेका पूर्वविद्यार्थीबाट विद्यालयले फाइदा लिनसक्नुपर्ने धारणा राखेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.