|

पोखरा : पोखराको गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याललाई पक्राउ गर्नका लागि कास्की प्रहरी काठमाडौँ पुगेको छ। विद्यार्थीसँग नियम विपरित लाखौँ रकम असुलेको आरोप लागेका अर्यालसँगै नौ जनालाई पक्राउ गर्न कास्की प्रहरीको एक टोली काठमाडौँ पुगेको हो।

कास्की प्रहरीले केहि दिन अघि मात्रै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) पत्र लेखेरै खुमा लगायतका अन्य नौ जनालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरेको थियो। केन्द्रीय अनुसन्धान व्यूराेले पनि उनीहरूलाई पक्राउ गर्नका लागि टोली परिचालन गरिसकेको जनाएको छ। ‘कास्की प्रहरीले निवेदन गरे अनुसार उनीहरूलाई पक्राउ गर्न व्यूराेले टोली खटाएको हो’, व्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदले थाहा खबरलाई जानकारी दिए। खुमा अर्याल लगायतलाई नियन्त्रणमा लिनका लागि कास्की प्रहरी प्रमुख एसपी ओम राना सहितको टोली पनि काठमाडौँ रहेको प्रहरी उच्च स्रोतले जनायो। 

दुई जनालाई कास्की प्रहरीले पक्राउ गरिसक्यो 

मेडिकल कलेजका विद्यार्थीले अत्यधिक रकम असुलेपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध उजुरी दर्ता गरेका थिए। ११ जना मध्ये दुई जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएर अुनसन्धान अघि बढाइसकेको छ। कजेलका कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरिसकेको कास्की प्रहरी कार्यालयका प्रवत्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनायो।

५० करोड ठगेको आरोप 

नर्सिङ र एमबीबीएस अध्ययनरत ५४ जना विद्यार्थीले कास्की प्रहरीमा ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता गराएपछि कास्की प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। विद्यार्थीले मुद्धा दर्ता गर्दा ५० करोड रुपैयाँ ठगी गरेको आरोप समेत लगाएका छन्। ‘अहिले उनीहरूले सबै विद्यार्थीसँग रकम उठाउँदा ५० करोड भन्दा धेरै पुग्छ’, मेडिकल कजेलका विद्यार्थी अनित सिंहले भने। कास्की प्रहरीले पनि कलेजले कति ठगेको भन्ने प्रारम्भिक रिपोर्ट बनाइसकेको छ। कास्की प्रहरीले विद्यार्थी र अभिभावकसँगको सोधपुछसँगै अनुसन्धान गर्दा ५२ करोड भन्दा धेरै रकम ठगी गरेको पत्ता लगेकाे छ। 

यी हुन् फरारहरू 

ठगी आरोपमा गण्डकी मेडिकल कजेलका कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरे पनि अरु नौ जना प्रहरीको फरारको सूचीमा राखेको छ। कलेजका अध्यक्ष अर्याललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएपछि प्रहरीले अरु नौ जनालाई पनि खोजीको सूचीमा राखेको छ। नौ जनाले नै पोखरा छोडिसकेको प्रहरी स्रोतले जनाएको छ। 

लेखा प्रमुख युवराज शर्मा, सोही शाखाका अर्का कर्मचारी विश्वराज घिमिरे, प्रिन्सिपल रविन्द्र श्रेष्ठ, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल फरार छन्। त्यस्तै मेडिकल कलेजकै काठमाडौंस्थित कार्यालयमा रहेर विद्यार्थी भर्ना शाखामा काम गर्ने कृष्ण घिमिरे, तिलक पौडेल, दिनेश पौडेलमाथि पनि विद्यार्थी मुद्दा दायर गरेका छन्। ११ जनाविरुद्ध नै प्रत्येक विद्यार्थीसँग १५ लाख रुपैयाँसम्म ठगी गरेको विद्यार्थी सिंहले बताए। 

लामो समयको आन्दोलन र वार्ता पछि बन्द रहेको गण्डकी मेडिकल पुनः खुलेको छ। गैरकानुनी रुपमा असुलेको रकम फिर्ता गर्नुपर्ने माग राख्दै विद्यार्थीले रिले अनसन, प्रशासनमा धर्ना, लगायतका दबाबमूलक कार्यक्रमहरू गरेका थिए। कलेज प्रशासनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सामू केही दिन अघि ठगेको रकम फिर्ता गर्ने वताए पनि विद्यार्थी रकम फिर्ता हुनेमा ढुक्न छैनन्। त्यस्तै परीक्षा छुटेका विद्यार्थीलाई पुन: परीक्षा दिने वातावरण बनाउन शिक्षा मन्त्रीले कलेज प्रशासनलाई आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.