|

सोलुखुम्बु : सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमत् भागवत् ज्ञान महायज्ञमा १० करोड बढी सहयोग रकम संकलन भएको छ। विकट गाउँ मुक्लिमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा १० करोड ७७ लाख ४२ हजार ६५८ सहयोग संकलन भएको हो।

दाताहरूले नगद, चेक हस्तान्तरण गरेका छन् भने धेरैले प्रतिबद्धतासमेत जनाएका छन्। थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण गरिने सुविधा सम्पन्न ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल निर्माणको लागि चैत्र २ देखि ९ सम्म संचालित महायज्ञमा ९३ लाख खर्च भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

महायज्ञबाट २० करोड संकलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पूरा भए पनि सहयोग संकलन अभियान निरन्तर रहने गाउँपालिकाले जनाएको छ। यस गाउँपालिकाका थुलुङ राईहरूको बाहुल्यता रहेको छ। सोही कारण गाउँपालिकाको नामकरणसमेत थुलुङ दूधकोशी गरिएको बताइन्छ। भ्याण्टिलेटर सहितको सुविधा सम्पन्न अस्पताल निर्माण हुने महाअभियान भएको भन्दै यहाँका सम्पूर्ण जातजातिले उत्साहजनक सहभागिता जनाएको महायज्ञ मूल आयोजक समितिका कोषाअध्यक्ष बलराम गुरुङले जानकारी दिए।

सामाजिक सद्भाव वृद्धिमा महत्त्वपूर्ण भूमिका 

सोलुखुम्बु प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ ले महायज्ञले सामाजिक सद्भाव वृद्धिमा पनि भूमिका खेलेको विश्लेषण गरे। समापन समारोहमा बोल्दै सांसद राईले अस्पताल सञ्चालमा आएपछि हुँदा खाने वर्गलाई नै फाइदा हुने बताए। अस्पताल सञ्चालको लागि सांसदको भूमिकामा कुनै पनि कञ्जुस्याइँ नहुनेसमेत उनले प्रतिबद्धता व्यक्त गरे। ग्रामीण भेगमा अस्पताल निर्माण हुनु देशको समृद्धिमा इँटा थपिने कामसमेत भएको उनको भनाई छ। ‍

गाउँपालिका अध्यक्ष असिम राईले २ वर्षको योजना भए पनि निर्धारित समय अगाडि नै योजना सम्पन्न गर्ने दाबी गरे। आर्थिक संकलनसँगै धार्मिक सहिष्णुता कायम राख्नको लागि महायज्ञ सफल भएको दाबी गर्दै अध्यक्ष राईले हुँदा खानेहरूको लागि चर्चित सुविधा सम्पन्न अस्पताल बनाएरै छाड्ने जिकिर गरे। चैत २ गते नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेको अस्पताल निर्माणका लागि करिब २३ रोपनी जग्गा निःशुल्क रजिष्ट्रेसन भइसकेको छ। महायज्ञका  प्रवीण कथा बाचन पण्डित दिनबन्धु पोखरेलले गरेका थिए।

जिल्लाको स्वास्थ्य अवस्था 

जिल्लामा एक अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य दुई दर्जन बढी स्वास्थ्य केन्द्र छन्। तर, यहाँ सामान्य रोगको उपचार भए पनि जटिल प्रकृतिको रोगको उपचार गर्नको लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। जिल्लाबासीको लागि सबैभन्दा नजिकको विश्वासिलो अस्पताल ओखलढुंगाको मिसन अस्पताल रहेको छ। कुनै पनि दुर्घटनामा परिहालेमा थप उपचारको लागि हेलिकाेप्टरको भर पर्नुपर्ने बाध्यता रहेको छ। 

एमबिबिएस डाक्टरको दरबन्दी भए पनि यहाँ पर्याप्त स्राेत साधान नहुँदा उपचार गर्न असंभव हुने स्वयं चिकित्सकको भनाई छ। जिल्लामा समेत सेवा उपलब्ध नभएपछि अब गाउँमा निर्माण हुने अस्पतालबाट प्राप्त हुने भएपछि यहाँका स्थानीय हर्षित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.