घर र जेलबाटै पनि दिए परीक्षा

|

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट देशैभरि शुरु भएको छ। एसईईमा मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थीले सहभागीता जनाएका छन। 

एसईईका परीक्षार्थीले आइतबार अंग्रेजी विषयको परीक्षा दिएका छन।

यस वर्षको एसईईमा शारीरिक रूपमा दुर्बल रहेकादेखि नेता र सेलिब्रेटीसहित विभिन्न उमेर समूहका परीक्षार्थी सहभागी भएका छन।

छोरीसँगै एसईई दिइन नेकपाकी सचेतक शान्ताले

प्रतिनिधिसभा सदस्य तथा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरीले पनि यसपालि एसईई दिइन। पूर्वकम्लरी शान्ताले आफ्नी १७ वर्षीया छोरी बिनु चौधरीसँगै एसईई परीक्षा दिइरहेकी छन। 

३८ वर्षीया शान्ताले ८ र ९ कक्षा औपचारिक रूपमा नियमित पढे पनि कक्षा १० मा नियमित रूपमा पढ्न पाइनन। नियमित विद्यालय जान र अध्ययन गर्न समयले साथ नदिएपछि चौधरी खुला विद्यालयमा भर्ना भएकी थिइन। सांसद र त्यसमा पनि ठूलो दलकी संसदीय दलकी सचेतक भएकाले उनले पढ्ने समय नपाएको बताउँदै आएकी थिइन। उनी व्यस्त राजनीतिक दैनिकीबाट जसोतसो समय निकालेर एसईईको तयारी गर्दै आएको बताउने गर्थिन।

शान्ताले तुलसीपुर उपमहानगर–६ स्थित तुलसीपुर माध्यमिक विद्यालयमा रहेको एसईई परीक्षा केन्द्रबाट अंग्रेजी विषयको परीक्षा दिइसकेकी छन। उनकी छोरी बिनुले भने सिर्जनालय सेकेण्डरी बोर्डिङ स्कुल बसुन्धारा काठमाडौंबाट परीक्षा दिएकी छन। आफ्नी छोरीसँगै परीक्षा दिन लागेकी चौधरीको पिएचडी गर्ने सपना छ।

तुलसीपुर माध्यमिक विधालयबाट परीक्षा दिइरहेकी शान्ता चौधरीको छेउमा उनको छोराको उमेरका खगेन्द्र बिष्ट छन। उनको पछाडि पट्टिको बेन्चमा भने १५ दिने सुत्केरी सामेल भएकी छन। तुलसीपुर उपमहानगरपालिका– ६ की शुशिला भण्डारी १५ दिनको छोरो काखमा च्यापेर परीक्षामा सहभागी भएकी छन।

अभिनेत्री करिश्माको एसईई

चर्चित अभिनेत्री करिश्मा मानन्धरले पनि यसपटक एसईई दिएकी छन। उनले आफ्नो अझै पनि पढ्ने रहर भएको बताउँदै आएकी छन। 

काठमाडौं डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको केन्द्रबाट उनी परीक्षामा सहभागी भएकी छन। एकमहिनादेखि सबै काम छोडेर एसईई परीक्षाको तयारीमा जुटेकी ४५ वर्षीया करिश्मा स्कुल ड्रेसमा नै परीक्षा दिन पुगेकी थिइन। करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर परीक्षाको लागि शुभकामना दिएको उनले बताइन। उनी नयाँ शक्ती पार्टीकी नेतृ पनि हुन। 

करिश्माले आफुसँगै परीक्षा दिने साथीहरूलाई नडराई र नआत्तिकन परीक्षा दिन आग्रह गर्दै सबै परीक्षार्थीलाई शुभकामना दिएकी थिइन। उनले कक्षा ८ मा भर्ना भएरै पढ्न शुरु गरेकी थिइन। करिश्मा काठमाडौंको मैतिदेवीस्थित त्रिवेणी माध्यमिक विद्यालयकी नियमित विद्यार्थी हुन। उनलाई सयौँ शुभेच्छुकहरूले फोन र सामाजिक संजालमार्फत परीक्षाको लागि शुभकामना दिइरहेका छन। 

घरबाटै एसईई

बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी करिश्मा बोहराले अंग्रेजी विषयको परीक्षा घरबाटै दिएकी छन। बोहरा शारीरिक रूपमा अशक्त छिन। परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएपछि उनलाई घरमै परीक्षा दिने व्यवस्था मिलाइएको थियो। बोहराको परीक्षाको लागि एकजना निरीक्षक र सुरक्षाकर्मीको व्यवस्था पनि घरमै गरिएको थियोे।

 बोहराजस्तै अर्की परीक्षार्थी छिन्, दीपा बोहरा। उनी आँखा देख्दिनन्। शारीरिक रूपमा अशक्त भए पनि मानिस मानसिक रूपमा अरुजस्तै शशक्त हुन्छ भनेझैं दीपाले सहयोगीमार्फत आफ्नो क्षमतालाई उत्तर पुस्तिकामा उतारिरहेकी छन। दृष्टिविहीन र शारीरिक रूपमा अशक्त भएकी दीपाले कक्षा ९ मा अध्ययनरत सुमित्रा साउँदको सहयोगमा आइतबार अंग्रजी विषयको परीक्षा दिएकी हुन। उनले रौलेश्वर माध्यमिक विधालयको परीक्षा केन्द्रमा सुमित्राको सहयोगबाट परीक्षा दिएकी छन।

कारागारबाटै एसईई

बैतडी पञ्चेश्वर गाउँपालिका– १ सेरीबसेरीका अजय घटाल एसईई परीक्षा कारागारबाटै दिएका छन। उनी जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका थिए। उनले जिल्ला सदरमुकाम शाहीलेकमा रहेको श्री वीरेन्द्र माध्यमिक विद्यालयबाट खुल्ला फारम भरी कारागार भित्रैबाट परीक्षा दिन लागेका हुन।

बाजे नातीले सँगै दिए एसईई

यसवर्षको एसईईमा ५८ वर्षीय मुसहर माझी पनि परीक्षार्थीको रुपमा सहभागी भएका छन। रौतहट चन्द्रपुर नगरपालिका १० बडहर्वा टोल निवासी माझी मुसहरले चैत्र १० गते अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन। उनले अहिले आफ्नै १५ वर्षीय नाति शिवकुमार माझीसँगै परीक्षा दिन लागेको हुन। २०६५ सालबाट पढ्न सुरु गरेका मुसहरको डिग्री पास गर्ने सपना छ। अहिले मुसहर पढ्ने मानिसलाई उमेरले छेक्दैन भन्ने उदाहरणका पात्र बन्न पुगेका छन्। दलित समुदमयका माझीलको ४५ सालबाटै पढ्ने विद्यालय जाने इच्छा भए पनि गरिबी, आर्थिक अवस्थाका कारण आफ्नो इच्छा पूरा गर्न पाएका थिएनन् । उनको गाउँमा अझैपनि धेरै मान्छे अशिक्षित नै छन।

सविताको एसईई

यस वर्षको एसईई दिने चार लाख ७५ हजार परीक्षार्थीमध्येकी एक परीक्षार्थी हुन सविता थापा। चार वर्ष अगाडि करेन्ट लागेर दुवै हातको आधा भाग र औँला गुमाएकी सविता हातैले लेखेर एसईईको दैलोमा पुगेकी छन। उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्ने गर्छिन्। करेन्टले दुवै हात चुँडाए पनि उनको पढ्ने इच्छालाई भने केहीले पनि चुँडाउन सकेन। उनको एसईईपछि विज्ञान पढ्ने धोको छ। त्यहि धोको पूरा गर्न सविता एसईईको राम्रो तयारीका साथ परीक्षामा सामेल भएकी छन। उनले काठमाडौंको चामुण्डा माध्यमिक विधालयबाट एसईईमा सहभागी भइरहेकी छन। सविताको विज्ञानमा उच्च शिषा हाँसिल गरेर डक्टर हुने सपना अझै हराएको छैन।

किरियापुत्रीले पनि दिए परीक्षा

लमजुङमा एक किरियापुत्रीले एसईई परीक्षा दिएका छन। बुबाको किरिया बसेका बेँसीसहर नगरपालिका– ७ का दरेश पौडेल परीक्षामा सहभागी भएका हुन। खाली खुट्टा, सेतो कपडामा पौडेल ६ दिनदेखि बुबा अर्जुन पौडेलको किरियामा छन् तर पनि परीक्षा दिन जान उनलाई केहीले छेकेन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.