|

पर्वत : कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष आइतबारदेखि सुरु भएको छ। यस वर्षको परीक्षा विगतका वर्षहरूमा भन्दा केही फरक पनि छ। अघिल्ला वर्षहरूमा केन्द्रीय स्तरबाट नै परीक्षा सञ्चालन हुने गरेकोमा यस वर्ष भने प्रदेशस्तरबाट परीक्षा चलाइएको छ। शिक्षाविद्‍हरूले एसइई परीक्षाको नाम सुन्दा साथ विद्यार्थी डराउने गरेको र उनीहरूको मनोविज्ञानमा नै परीक्षाप्रतिको फोबियारहने गरेको बताउँदै आएका छन्। यस्तो खालको फोबिया हटाउनको लागि परीक्षालाई धेरै हल्ला खल्ला गरेर, फलामे ढोकाको परिचय दिएर वा अन्य कुनै पनि डर वा भयका कुराहरू विद्यार्थीहरूलाई सुनाउन नहुने उनीहरूको तर्क छ।

एसइई परीक्षा पनि अरू साना कक्षाहरूमा लिइने जस्तै एउटा मूल्यांकन गर्ने प्रक्रिया हो भनी चिनाउनुपर्ने बहस भइरहेको बेलामा पर्वतका परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका विद्यार्थीलाई भने एसइईको फोबियाभन्दा जनप्रतिनिधिको फोबिया बढी भएको छ। आइतबार बिहान परीक्षा सुरु भएको केही बेरमा नै अनुगमनका नाममा शिक्षा तथा एसइई परीक्षा सम्बद्ध शिक्षा तथा अन्य कर्मचारी तथा जनप्रतिनिधिहरू परीक्षा केन्द्रमा पस्दा विद्यार्थी हतोत्साहित भएका देखिन्थे।

गाउँका विद्यालयमा अध्ययन गरेका विद्यार्थी परीक्षा दिनको लागि मात्र सदरमुकाम आएर बसेका छन्। उनीहरूमा एसइई परीक्षाको डर त यसै थियो त्यहीँमाथि पनि परीक्षालाई मर्यादित बनाउन अनुगमन गर्नेभन्दै ठूलो संख्यामा अनुगमनकर्ताहरू परीक्षा चलिरहेको कोठाभित्र बाहिर गरिरहँदा विद्यार्थी डरले रातापिरा भएका देखिन्थे। गल्ती गरेको पाएमा रेस्टिकेट गरिदिन्छन् रे भन्ने सुनेको हो, त्यति धेरै मान्छे हेर्न आउने रहेछन्, डर लागेर कस्तो गाह्रो भयो मलाई त कुश्माको शिवालय माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षा दिएका उमेश अधिकारीले भने।

अनुगमन गर्नका लागि कक्षाकोठामा पस्नेहरूले कर्किएर, बांगिएर, निहुरिएर, टाउको तन्काएर पटकपटक विद्यार्थीतर्फ हेर्दा र दायाँबायाँ केही नगरी राम्रोसँग लेख भन्दै विद्यार्थीलाई सम्झाएका पनि देखिन्थे। प्रहरीले घट्नाको अनुसन्धान नै गरेको जस्तो अनुगमनकर्ताहरूले व्यवहार परीक्षा चलिरहेका कोठामा देखाउँदा आफूहरूलाई अप्ठ्यारो लागेको परीक्षा दिएर फर्केका विद्यार्थीहरूले आपसमा कुरा गरिरहेको सुनिन्थ्यो।

आफ्ना सन्तानको परीक्षाको शुभकामना दिन तथा उनीहरूलाई छोड्नका लागि परीक्षा केन्द्रका गेटसम्म पुगेका अभिभावकले पनि पहिलेका वर्षहरूमा भन्दा यस वर्ष परीक्षा हेर्न आउनेहरूको संख्या धेरै रहेको बताए। कुश्माको नमुना आवासीय मावि परीक्षा केन्द्रमा बहिनीलाई छोडेर बाहिर पर्खिरहेका आनन्द शर्मा भन्छन्, ‘परीक्षा दिनेभन्दा हेर्नेहरू बढी हुँदा रहेछन्, आजभोलि। भाइबहिनीहरूले पनि कसरी लेखून्? मेरी बहिनी परीक्षाको नाम सुन्दा त डराउँछे, अब यत्रा मान्छे कोठामा पसेपछि त्यसे के पो लेखी होला र?’

त्यसबाहेक केही मिनेटको अन्तरमा अनुगमनकर्ताहरू परीक्षा हलमा पस्ने र बाहिरिने क्रममा लेख्दै गरेका विद्यार्थीहरू टाउको उठाउँदै व्यक्ति जता जान्छ त्यतै हेर्दै गरेका देखिन्थे। उनीहरूको ध्यान प्रश्नले मागेको उत्तर कापीमा लेख्नुभन्दा पनि को मान्छे आयो? यो को होला? भन्ने जिज्ञासा मेटाउनमा नै बढी देखिन्थ्यो।

पहिलो दिन अंग्रेजी विषयको परीक्षाको समय २ घण्टा १५ मिनेटको थियो। त्यो बीचमा नगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कर्मचारी, नगरपालिकाका कर्मचारी, नगरपालिकाको शिक्षा शाखाका कर्मचारी, वडाध्यक्ष र वडा सदस्यहरूसहित धेरै जनाले परीक्षा केन्द्रहरूको अवलोकन गरेको सदरमुकाम कुश्मामा रहेका ५ ओटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले बताएका छन्।

एसइई परीक्षा सञ्चालक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यस विषयमा आफूले बुझ्ने र शिक्षा तथा समन्यवय इकाई कार्यालयका प्रमुख तथा केन्द्राध्यक्षहरूलाई विद्यार्थीलाई हतोत्साहित गर्ने वातावरण बनेको भएमा नियन्त्रण गर्न निर्देशन दिने बताए। एसइई परीक्षा सञ्चालनको लागि स्थानीय तहसँग समन्वय गरिने भएका कारण जनप्रतिनिधिहरू अनुगमनका लागि जान सक्ने उनको भनाई छ। तर, अनुगमन गर्ने क्रममा परीक्षा मर्या्दित भयो वा भएन? भन्ने मात्र नहेरी विद्यार्थीको मनोविज्ञानको पनि ख्याल गर्नुपर्ने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.