'अशान्ति कायम राख्न सकिन्छ कि भन्ने कल्पना नगरे हुन्छ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले सुरक्षा कारबाही गर्ने बताएका छन। उनले बाटोमा अगाडि बढेको र त्यसबाट पछाडि हट्ने बाटो नरहेको बताए।

आइतबार प्रतिनिधिसभाको अधिवेशन समापन बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवलाई सम्झाउँदा सम्झाउँदा थाकेको भन्दै अब कारबाहीको बाटोमा अगाडि बढेको बताए। उनले भने, 'राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन। नियन्त्रण गर्छ, गर्छ। आतंक नियन्त्रण गर्छ।'

विप्लव समूहलाई धेरै पटक सरकारको तहबाट र व्यक्तिगत तहबाट धेरै सम्झाएको र त्यसले पनि पार नलागेपछि एवं विप्लव समूहले बम पड्काउने र विध्वंश मच्चाउने काम नछाडेपछि प्रतिबन्ध लगाउनुपरेको बताए। उनले विप्लव समूहका बमले केहीको मृत्यु भएको, महिला र बालबालिका अंगभंग भएको, निर्वाचनमा उम्मेदवार घाइते भएको लगायतका कुरा भएको र त्यसलाई निरन्तरता दिन नसकिने बताए।

'निर्दोष नागरिक मारिएका छन्। कहिँ मार्ने प्रयास भएका छन। चन्दा होइन, चन्दका नाममा लुटपाट गरिएको छ', प्रधानमन्त्रीले भने, 'त्यो समूह कतै दर्ता छैन र ठेगाना छैन। केही पनि छैन। त्यस समूहका नीति र क्रियाकलाप अपराधिक छन।' प्रधानमन्त्रीले विप्लव समूहका विध्वंश बन्द गर भनेर निशेध गरिएको बताए।

विल्वलाई प्रतिबन्ध लगाएकोमा सरकारको आलोचना भएकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि यसरी पोखिएको थियो, 'यो त लोकतान्त्रिक भएन भन्ने? बम पड्काउन पाउने, लुट्न र उम्मेदवार मार्न पाउने हुन्छ? जन्तिका बस जलाउने, चन्दका नाममा लुट्ने? लोकतन्त्रमा त्यो गर्न पाइँदैन भन्दा लोकतन्त्र खतरामा पर्‍यो भन्ने? सम्झाउनुपर्थ्यो भन्ने?'

प्रधानमन्त्रीले द्वापर युगमा कृष्ण भगवानले अर्जुनलाई सम्झाउँदा गीता बनेको प्रसंग सुनाउँदै ज्ञानको भण्डार कृष्णले देखिनेगरी औँलामा चक्र लिएर हिँडेको बताए। उनले सम्झाउदा भएन भने चक्रा चलाउनका लागि उक्त कुरा बोकेको बताए। त्यसै गरी भगवान रामसँग पनि सम्झाउने भरपूर क्षमता हुँदा पनि देखिनेगरी धनुषवाण लिएर हिँडेको बताए। यी दुई प्रसंग सुनाउँदै प्रधानमन्त्रीले विप्लव समूहलाई उसका गतिविधिलाई नियन्त्रणमा लिनका लागि कानुन भएको सम्झाए।

विद्युत, टेलिफोन, बाटो निर्माणमा अवरोध पुर्‍याएको भन्दै प्रधानमन्त्रीले भने, 'धन कमाउन नपाउने, लुटिहाल्ने? यस्तो चल्दैन। कतिलाई चिन्ता लागेको होला फर्किने बाटो नदिएको हो कि भनेको। हतियार बुझाउने समय दिइएको छ त्यो समयमा दिएन भने सरकारले जानेको छ कसरी फिर्ता लिनुपर्छ भनेर।' उनले दुई तिहाईको सरकारलाई विप्लवसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने जानेको बताए। सरकार विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै उनले भने, 'देशमा अशान्तिको श्रृंखला जारी रहन्छ कि र जारी राख्न सकिन्छ कि भन्ने कल्पना नगरे हुन्छ।'

यो पनिः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.