|

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश लिएका छन्।

२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका प्रमुख निर्वाचन आयुक्त यादवले आईतबारबाट अवकाश पाएका हुन्। यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए। उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गरे।

अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका थिए। आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मिति सहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क छ। यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादव सफल भएका थिए। उनले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए। निर्वाचन आयोगको नेतृत्वको रुपमा सफल भएका यादवको पहिलोभन्दा दोस्रो कार्यकाललाई सफल मानिन्छ। यादवको अवकाशसँगै कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हालेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.